वैशाख १७, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीचको एकता भाँडिएको छ । नाउपाका संरक्षक रेशम चौधरी पक्राउ परेसँगै यी दुई पार्टीको एकता भाँडिएको हो ।
जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले दुई पार्टीको एकता स्थगित भएको जानकारी दिएका छन् । चौधरीलाई पक्राउ गरेपछि एकता घोषणा स्थगित गरिएको उनको भनाइ छ ।
‘पार्टी एकीकरण प्रज्ञा प्रतिष्ठानमा घोषणा हुन लाग्दै रेशमलाल चौधरीलाई नेपाल प्रहरीले कार्यक्रमस्थलबाटै पक्राउ गरेर पुरानो फैसला कार्यान्वयन गर्नका लागि डिल्ली बजार जेल पठाएको खबर प्राप्त भएको छ । यसको हामी घोर भत्र्सना गर्दछौँ । यस कारणले आजको एकीकरण कार्यक्रम स्थगित गरिएको छ र सम्पूर्ण नेता कार्यकर्ताहरूलाई आ–आफ्नो घर जान आग्रह गरिएको छ । बैठक बसेर अर्को सूचना हामी शीघ्र दिनेछौँ,’ उनले लेखेका छन् ।