• बैशाख १७ २०८२, बुधबार

आजको मौसम: यी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

बैशाख १७ २०८२, बुधबार

काठमाडौं ।  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । यसका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ ।

महाशाखाका अनुसार अहिले कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । कोशी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । देशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ ।

आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

आज सूर्योदय बिहान ५ बजेर २५ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ३७ मिनेटमा हुनेछ ।