• बैशाख १६ २०८२, मंगलवार

निष्कर्षमा नपुगेपछि शिक्षकको आन्दोलन आज पनि जारी रहने

बैशाख १६ २०८२, मंगलवार

काठमाडौं ।  काठमाडौंमा जारी शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने भएको छ ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सामाजिक सञ्जाल फेसबुकमार्फत मङ्गलबार पनि आन्दोलन जारी रहने भन्दै आन्दोलन बिना केही नपाइने भएकाले थप बलियो बनाउन शिक्षक तथा विद्यालय कर्मचारीलाई आग्रह गरेका छन् ।

उनले भनेका छन्– ‘हाम्रो आन्दोलन जारी छ । आज पनि ठिक  ११ बजे माइतीघर मण्डला आउनुहोला । राज्य दिन चाहँदैन, आन्दोलन बिना केही पाइँदैन  । त्यसैले आन्दोलन  बलियो गराऔँ ।’

उनले सोमबार राति शिक्षा मन्त्रालयमा विभिन्न विषयमा लामो छलफल भए पनि निष्कर्षमा पुग्न नसकिएको बताएका छन् ।

सोमबारको वार्तापछि शिक्षामन्त्री पन्तले वार्ता सकारात्मक दिशामा अगाडि बढेको प्रतिक्रिया दिएका थिए । महासङ्घका अध्यक्ष सुवेदीले भने केही विषयमा छलफल भए पनि धेरै विषय बाँकी रहेकाले निकास निस्केपछि मात्रै आन्दोलन निष्कर्षमा पुग्ने प्रतिक्रिया दिएका छन् ।

शिक्षक महासंघको अगुवाइमा शिक्षकहरूले गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन जारी राखेका छन् ।