• असार ४ २०८२, बुधबार

म आगोसँग खेल्न तयार छु

बैशाख १० २०८२, बुधबार

कविता
लाग्दैन अचेल
किन हो मलाई डर
मभित्रबाट
जन्मिएको छ
विद्रोह बोकेर
एउटा सुन्दर सपना
लिएर दृढ अठोट
वीरहरूका
पदचाप पछ्याउँदै
रहर छ अघि बढ्न
विजयको शिखर चढ्न
मलाई राम्ररी थाहा छ
कठिन छ यो यात्रा
उकाली चढ्नु पर्छ
ओराली झर्नु पर्छ
हत्केलामा
प्राण राखेर हिंड्नु पर्छ ।
म समय
र परिस्थिति अनुसार
चल्न तयार छु
म ढल्न तयार छु
म गल्न तयार छु
जस्तोसुकै समस्या झेल्न तयार छु
म आगोसँग खेल्न तयार छु
यो मेरो रहर होइन
लहड होइन
विवशता हो
बाध्यता हो ।
हिजो
म सानो छँदा पनि
थिए यहाँ
आगोसँग खेल्नेहरू
पानी पिएर
आगो उकेल्नेहरू
जसलाई
हामीले मान्यौं
महान नेता
तर रहेछन्‌
पर्दाभित्रका अभिनेता
मौसम बदलिए झैँ
छिनछिनमा बदलिए
समुद्र भन्दा गहिरा
सिद्धान्त खाए
सगरमाथा भन्दा उच्च
दर्शन पचाए
रङ्ग बदले
इमान बेचे
धर्म बेचे ।
यही हो परिवर्तन भने
यसैलाई उपलब्धि ठाने
तर मेरो मन
मानेको छैन
मैले उपलब्धि
ठानेको छैन
म हराउँदै गएको
एकताका धड्कनहरू
छाम्दै
मिलाउँदै
फाटेको मन
सिलाउँदै
टुक्रिएका मुटुहरू
जोड्ने अभियानमा
स्वरमा
स्वर मिलाउँदै
हातमा हात
काँधमा काँध मिलाउँदै
अघि बढ्न तयार छु
बाटोमा आइपर्ने
समस्या झेल्न तयार छु
मलाई नजिस्क्याउनु
म आगोसँग खेल्न तयार छु ।
ता.न.पा.–९, मनमैजु ।