काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको हेलो सरकारको वेबसाइट रुसी ह्याकर समूहले ह्याक गरेको छ ।
घुद्रा नामक रूसी ह्याकरको समूहले हेलो सरकारको वेबसाइट ह्याक गरी कब्जामा लिएको छ । ती समूहले आफूलाई फेन्सी बियर्स एपीटी २८’ अन्तर्गत रहेको रुसी सैन्य इन्टेलिजेन्ससँग नजिक भएको चिनाउँछन् ।
ह्याकरले हेलो सरकार वेबसाइटमा राखिएका संवेदनशील डेटाहरू डार्कवेबमा बिक्रीमा राखिदिएका छन् । जसमा ह्याकर समूहले १ हजारमा पूरै डेटाबेस र १ हजार ३ सय डलरमा लाइभ सेल एक्सेस दिने उल्लेख गरेका छन् ।
ह्याकर समूहले भनेका छन्, ‘नेपाल सरकारले हामीसँग सम्पर्क गर्न अस्वीकार गरेका हामी यो सुरक्षा डेटा बिक्री गर्न बाध्य भएका छौं ।’ साथै उक्त पोस्टमा हेलो सरकारको सिस्टमको फाइल मेनेजरको स्क्रिनसट राखिदिएको छ ।
उक्त स्क्रिनसट हेर्दा यस्तो इन्टरफेस भएको देखिन्छ, जसले सुरक्षाको जानकारी, फाइल एक्सेस, कन्सोल, डेटाबेस मेनेजमेन्ट, पीएचपी सेटिङको अप्सन उपलब्ध गराउँछ ।
यस्तै ह्याकरले पर्सनल आइडेन्टीफिएबल इन्फरमेशन (पीआईआई) पनि राखिएदिएका छन्, जसमा नागरिकको नाम, इमेल, युजर नेम, मोबाइल नम्बर, पासवर्ड, डिभाइसको आइडी, फोटो, अफिसको आइडी, नेपालीमा रहेको नाम, ठेगाना लगायतका सबै विवरण) रहेका छन् ।
ह्याकरले राखेको स्क्रिनसटमा ४९.९८ जीबीको सर्भर स्टोरज भएको देखिन्छ । जसमा ८.३२ जीबी स्टोरेज बाँकी भएको देखाइएको छ ।
हेल्लो सरकारको वेबसाइट हेर्ने सहसचिव प्रेमकुमार श्रेष्ठले भने ह्याक भएको सूचना पाउना साथ वेबसाइटलाई मेन्टेनेन्स गर्न कर्मचारी खटाइसकिएको जानकारी दिए ।
उनले भने, ‘मैले पनि भर्खरै थाहा पाएँ । थाहा पाउनासाथ वेबसाइट रिकभर गर्न र मेन्टेनेन्स गर्न टेक्निकल कर्मचारी खटाइसकेको छु । अब केही क्षणमा रिकभर हुन्छ ।’