माघ २१, काठमाडौं । म्यासेजिङ एप ह्वाट्सएपका प्रयोगकर्तामाथि साइबर आक्रमण भएको छ । ह्वाट्सएपको मालिक कम्पनी मेटाले साइबर आक्रमण भएको पुष्टि गरेको छ । मेटाका अनुसार विभिन्न २० देशका ९० वटा प्रयोगकर्तामाथि जिरो क्लिक साइबर आक्रमण भएको छ ।
जिरो क्लिकमा कुनै लिंक क्लिक नगरे पनि आक्रमण हुन सक्छ । र प्रयोगकर्ताको डेटा चोरी हुन सक्छ । मेटाका अनुसार इजरायली स्पाइवेयर कम्पनी पारागनको प्रविधि प्रयोग गरी ह्वाट्सएपमा साइबर आक्रमण गरिएको हो ।
साइबर आक्रमणमा परेका ९० जना प्रयोगकर्ताहरू पत्रकार, लगायत विशिष्ट किसिमका व्यक्ति भएको बताइएको छ । तर, ती प्रयोगकर्ताबारे भने विस्तृत जानकारी दिइएको छैन । उता जिमेलले पनि आफ्ना प्रयोगकर्ताहरूलाई सचेत गराएको छ । उसले साइबर आक्रमणबाट सुरक्षित रहन सतर्क गराएको हो ।