वीरेन्द्रनगर । अछामको ढकारी गाउँपालिका–८, पल्साँताका १४ वर्षीय इशरा खड्का र १५ वर्षीय सरस्वती खड्काको मृत्यु प्रकरणमा शारीरिक सम्पर्कको प्रस्ताव अस्वीकार गर्दा हत्या भएको खुलेको छ ।
अछाम प्रहरीले सार्वजनिक गरेको अनुसन्धान विवरणमा दुई किशोरीको हत्या गरिनुको मुख्य दुईवटा कारण खुलाइएको छ । जसमा मायाको चिनो चुन्नी माग्दा नदिएको, शारीरिक सम्पर्कको प्रस्ताव अस्वीकार गर्दा हत्या भएको उल्लेख छ ।
प्रहरीले दुई किशोरीको हत्या प्रकरणमा १५ र १७ वर्षका दुई जना बालक पक्राउ परेका छन् । प्रहरीले उनीहरुको परिवर्तित नाम (६९ मंगलसेन ७३) र (६९ मंगलसेन ७६) राखेको छ । बालक भएकाले उनीहरुको नाम नखुलाइएको अछामका प्रहरी, प्रहरी नायव उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले बताए ।
प्रहरीका अनुसार अनुसन्धानका क्रममा मृतक इशरा परिवर्तित नाम ६९ मंगलसेन ७३ को प्रेमिका र मृतक सरस्वती खड्का परिवर्तित नाम ६९ मंगलसेन ७६ को प्रेमिका रहेको खुलेको छ । ती बालकहरुले यो कुरा स्वीकार गरेको प्रहरीले जनाएको छ ।
परिवर्तित नाम ६९ मंगलसेन ७६ ले सरस्वतीसँग मायाको चिनो चुन्नी मागेका थिए । ‘उनले दिन अस्वीकार गरिन,’ डीएसपी भण्डारीले भने, ‘सोही व्यक्तिले सरस्वतीलाई शारीरिक सम्पर्कका लागि प्रस्ताव गरे । सरस्वतीले उनको त्यो प्रस्ताव पनि अस्वीकार गरिन् ।’
यही विषयमा विवाद भई दुई किशोरीको हत्या भएको प्रहरीको निष्कर्ष छ । बाख्रा चराउनका गएका दुई किशोरीको अघिल्लो शुक्रबार (माघ ११) गते हत्या भएको हो ।