नेपाल बहुजातीय, बहुधार्मिक र बहुसंस्कृतिले सम्पन्न देश हो । यहाँ रहेका विभिन्न समुदायहरु आ–आफ्नो धर्म र संस्कृति अनुसार शान्त वातावरणमा एकले अर्कोलाई सहयोग गर्दै चाडहरु मनाउँदै आएका छन् ।
नेपालका हिमाली समुदायहरुमा र चिनियाँ स्वशासित क्षेत्र तिब्बत लगायतका हिमाली राज्यहरुमा नयाँ वर्षको रुपमा ल्होसार मनाउँदै आइएको छ ।
वास्तवमा ल्होसार ३ प्रकारका रहेका छन् । सोनाम ल्होसार, ग्याल्पो ल्होसार र तमु ल्होसार । सबै समुदायहरुमा ल्होसार मनाउने समुदायहरुले आफ्नो वासस्थान सफा गर्ने र सजाउने गर्दछन् । धार्मिक पूजा र अनुष्ठान पनि गर्ने गर्दछन् ।
पारिवारिक खानपान तथा सामुदायिक भोज पनि गर्दछन् । नाचगान तथा सांस्कृतिक कार्यक्रम पनि गर्दछन् । सो अवसरमा उनीहरुले आ–आफ्ना पूर्खाको सम्झना पनि गर्ने गर्दछन् । सबै समुदायसित मेलमिलाप गरी विभिन्न सांस्कृतिक कार्यक्रम पनि गर्दछन् । सोही दिन नयाँ वर्ष सुरु हुने भएकोले नयाँ योजना बनाएर नयाँ संकल्प पनि गर्दछन् र सबैमा शुभकामना आदानप्रदान पनि गर्दछन् ।
ल्होसार केवल पर्वमात्र नभई आ–आफ्नो समुदायको परम्परा, धर्म र सांस्कृतिक पहिचान बनाउने एक महत्वपूर्ण अवसर पनि हो । ल्होसारहरु कृषि, अर्थतन्त्र र समाजसँग निकै जोडिएर रहेका छन् । ल्होसारमा कन्फ्युसियस र ताओवाद, चिनियाँ लोकधर्म, हिमाली तान्त्रिक चालचलन र हिन्दु संस्कृतिको प्रभाव निकै देखिन्छ । साथै बौद्ध धर्मको पनि निकै प्रभाव देखिन्छ ।
चिनियाँ ल्होसारमा कृषि र पारिवारिक मूल्य मान्यताहरु हावी भएको पाइन्छ भने नेपाली हिमाली समुदायको ल्होसारमा धर्म, संस्कृति र सामुदायिक एकतालाई बढी प्राथमिकता दिएको पाइन्छ ।
नेवार समुदायले मनाउने न्हुँदया भिन्तुना अर्थात् नेपाल संवत र ल्होसार बीच प्रत्यक्ष सम्बन्ध नभएता पनि सांस्कृतिक, ऐतिहासिक र मानव कल्याण्को हिसावबले यहाँ रहेका चालचलनहरुमा केही समानताहरु रहेका पाइन्छन् ।
ल्होसार चन्द्रमासीय पात्रो अनसार संचालन गरिन्छ । यस अनुसार १२ वटा जनावर चक्र र ६० वर्षीय चक्र प्रणालीमा आधारित रहेका हुन्छन् । ती १२ वटा जनावरहरु यी हुन्, मुसा, गाई बाघ, खराया, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर ।
जनावहरुको नामले प्रकृतिप्रतिको सम्मान र मानिस र प्रकृति बीचको गहिरो सम्बन्धलाई झल्काउँछ । हरेक जनावरमा आ–आफ्नै विशेष गुण र स्वभाव रहेको हुन्छ । त्यसैको प्रतिककको रुपले त्यस वर्षको विशेषता जनाउँछ जस्तै : मुसा, चातुर्य र शक्ति र नयाँ सुरुवात । गाई, शक्ति, स्थायित्व र निरन्तरता । बाघ, नेतृत्व, शक्ति र उद्यमसिलता । खरायो, शान्ति, कोमलता र सौभाग्य । ड्रागन, शक्ति भाग्य र प्रेरणा । सर्प, ज्ञान सहजता र गहिरो सोच । घोडा, स्वतन्त्रता गति र ऊर्जा । भेडा, समर्पण कलात्मकता र सहानुभूति । बाँदर, चतुर चपलता र मजाक प्रेम । चरा, अनुशासित, मेहनती र साहसी । कुकुर, निष्ठा र सुरक्षा र मित्रता । सुगुर, समृद्धि, खुसी र निष्ठा आदि प्रतिकको रुपमा लिने गरिन्छ ।
ल्होसारमा विभिन्न ध्वजाहरुले सिगार्ने गरिन्छ । ती ध्वजाहरुले विशेष गरी धार्मिक र आध्यात्मिक अर्थ बोकेका हुन्छन् । ध्वजाहरु शाान्ति, समृद्धि र शुभकामनाका प्रतीक हुन् । ल्होसारमा फरफराउने ध्वजा मध्ये लुंगता पनि हो । यसलाई हावाको घोडाको प्रतिकको रुपमा दिने गरिन्छ । यसलाई हावामा फहराउँदा चारैतिर सकारात्मक उर्जा फैलिन्छ भन्ने विश्वास गरिन्छ । यसमा निलो, रातो, सेतो, पहेंलो र हरियो गरी ५ रंगहरु प्रयोग गरिएको हुन्छ ।
त्यसैगरी ल्होसारमा प्रयोग गरिने डर्चोक हो । यो ध्वजा स्तम्भमा बाँधेर राखिएको हुन्छ । यसका पनि ५ रंगहरु हुन्छन् । यसमा ‘ओम मने पद्मे हुँ’ जस्ता मन्त्र लेखिएका हुन्छन् । यसले करुणा र शान्तिको ऊर्जा फैलाउने कार्य गरेको हुन्छ ।
सोनाम ल्होसार तामाङ समुदायले मनाउने गर्दछन् । यो माघको शुक्ल प्रतिपदाको दिन पर्दछ । यसमा यस समुदायका मानिसहरु पुजापाठ गरी नाचगान गरी परम्परागत खानेकुराहरु पकाएर खाएर, आफ्ना इष्टमित्रहरु बोलाएर आपसमा शुभकामना आदन प्रदान गरी मनाउने गर्दछन् ।
त्यस्तै ग्याल्पो ल्होसार शेर्पा, भोटे र तिब्बती समुदायले मनाउने गर्दछन् । यो पर्व फागुन महिनाको नयाँ चन्द्रमाको दिन पर्दछ । यो ल्होसार पनि सोनाम ल्होसार जस्तै गरी मनाउने गरिन्छ ।
त्यस्तै तमु ल्होसार गुरुङ समुदायले मनाउने गर्छन् । यो चाड पौस महिनाको अन्त्यतिर मनाउने गरिन्छ । गुरुङ समुदायले आफ्नो कुल देवता पुजा गरेर नयाँ वर्षलाई स्वागत गरी मनाउने गर्दछन् ।
उक्त दिनमा आफ्नो साँस्कृतिक पोशाक लागउने, सामुहिक भोज खाई रमाइलो गर्ने गरिन्छ । सबै ल्होसारहरु नयाँ वर्षको रुपमा उत्साहपूर्वक माइने पर्वहरु हुन् । यी पर्वहरु कृषि तथा पारिवारिक मूल्यहरुसित जोडिंदै हिमाली धर्म र साँस्कृतिक परम्परा र सामुदायिक एकताको रुपमा झांगिँदै आएको पर्वहरु हुन् ।
हिजो आज यी पर्व मनाउँदा बढी खर्च गर्ने गरेको जनगुनासोहरु आएका छन् । नेपालीहरु रोजगारीका लागि विभिन्न देशमा जाने भएकोले उनीहरु उतैतिर बस्न थाले । त्यसकारण ती देशहरुमा पनि ल्होसार मनाउने गरिन्छ । जे होस् नेपाली चाडपर्वहरु विश्वभर फैलिनु सकारात्मक कुरा हो । तर पर्व मनाउने नाममा आर्थिक धेरै खर्च गर्नु भने नराम्रो कुरा हो ।