हेटौँडा । नेपालको सबैभन्दा ठुलो गढीमध्येको एक मकवानपुरमा रहेको ऐतिहासिक मकवानपुरगढी दरबारमा विजयोत्सव मनाइने भएको छ ।
भारतको बङ्गालको तत्कालीन नवाफ मिर कासिमले गुरगिन खाँको नेतृत्वमा आएको फौजलाई गोर्खाली फौजले मकवानपुरगढीमा पराजित गरेको सम्झनामा विजय उत्सव मनाइने भएको हो ।
मकवानपुरगढी गाउँपालिकाको आयोजनामा मकवानपुरगढी २ स्थित गढीदरबारमा बिहीबार २६२औं विजय उत्सव कार्यक्रम विविध कार्यक्रम गरी मनाउन लागेको वडा नं. २ का वडाध्यक्ष बखानसिं पाख्रिनले जानकारी दिए ।
उनले विजय उत्सव कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको बताए । उनका अनुसार नेपालको राष्ट्रिय झन्डाको झन्डोत्तोलन, सेनाबाट सलामी अर्पण, मञ्चको कार्यक्रम लगायतका कार्यक्रम रहेको छ ।
खाँको नेतृत्वमा दुई हजारको सङ्ख्यामा आएको फौजलाई गढीमा रहेको नन्दु शाह नेतृत्वको फौज, पृथ्वीनारायण शाहले दहचोकबाट नाहरसिंह बस्नेत र सरदार वंशीराज पाण्डेका नेतृत्वमा पठाएको फौजले वि.सं. १८१९ माघ १० गते पराजित गरेको दिनको स्मरणमा विजय उत्सव मनाउँदै आएको छ । हेटौँडा बजारबाट मकवानपुरगढी दरबार १६ किलोमिटर दुरीमा रहेको छ ।