• बैशाख २६ २०८३, शनिबार

प्रधानमन्त्री ओलीलले दिए पाण्डेलाई अर्जेन्टिनाको अकानकागुआ हिमाल आरोहणको शुभकामना

माघ ५ २०८१, शनिबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण अमेरिकी महादेशको सबैभन्दा अग्लो हिमाल अकोन्कागुआ आरोहणमा जान लागेका पर्वतारोही प्रकाशराज पाण्डेलाई आरोहण सफलताको शुभकामना दिएका छन् ।

विश्वका सातै महादेशका सात अग्ला हिमाल आरोहण गर्ने अभियानमा रहेका पर्वतारोही पाण्डेलाई प्रधानमन्त्री ओलीले अभियानमा सफलताको शुभकामना दिदै राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै बिदाई गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले पर्वतारोही पाण्डेलाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै समाजमा सकारात्मकता फैलाउने युवाहरुको सबै अभियानमा आफ्नो सधैं साथ रहने प्रतिबद्धता पनि व्यक्त गरेका थिए । पाण्डे जनवरी २० तारिखमा अर्जेन्टिनाको राजधानी ब्युनस आयर्सका लागि प्रस्थान गर्दैछन् ।

यसअघि पाण्डेले सगरमाथा, मनास्लु, आमादब्लम लगायत नेपालका विभिन्न हिमालको सफल आरोहण गरिसकेका छन् ।
पाण्डेले सातै महादेशका अग्ला हिमाल चढ्ने अभियान शुरु गर्दै २०२४ को जुनमा युरोपको उच्च हिमशिखर माउण्ट एलब्रस आरोहण गरेका थिए । त्यसपछि सोही वर्षको नोभेम्बर महिनामा अफ्रिकाको अग्लो चुचुरो किलिमन्जारोको सफल आरोहण गरेका थिए ।

नियमितरुपमा सबै महादेशका हिमालहरु चढ्दै जाने लक्ष्य रहेको बताउँदै आरोही पाण्डेले उनको यो अभियान हिमाल चढ्ने अभियान मात्रै नरहेको प्रतिक्रिया दिए । आफ्नो अभियानका माध्यमबाट जलवायु परिवर्तनका असरहरुका बारेमा पनि कुरा उठाउने र सरोकार राख्ने सबैलाई यसतर्फ ध्यानाकृष्ट गराउने गरेको उनले बताए ।

जलवायु परिवर्तन निम्त्याउन हाम्रो नगण्य भूमिका भएपनि यसका कारणले हामीले विषम परिस्थितिको सामना गरिरहनु परेको हुँदा सबै ठूला र शक्तिशाली राष्ट्रहरुको चासोको विषय हुनुपर्ने उनले बताए । अन्य आरोहणमा जस्तै यस आरोहणमा पनि जलवायु परिवर्तनका विषयमा उक्त हिमाल रहेको देशमा छलफल गर्ने र परिवर्तनका असरलाई नजिकैबाट नियाली आफ्नो अनुभव सम्बन्धित तहसम्म लैजाने विचार रहेको उनले बताए ।