काठमाडौं । रष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हिरासतमा पठाइएको छ । जिल्ला अदालत काठमाडौंमा आइतबार बयान भए पनि थुनछेक बहस नभएकोले लामिछानेलाई हिरासतमा पठाइएको हो ।
जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई प्रहरीको जिम्मा लगाउन आदेश दिएका हुन् ।
काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत दुरूपयोग आरोपमा लामिछानेसहित ३९ जनाविरूद्ध एक अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ७० रुपैयाँ बिगो कायम गर्न माग गर्दै मुद्दा दर्ता भएको थियो ।
लामिछानेको हकमा सरकारी वकिलले पाँच करोड ८ लाख ६९ हजार ६ सय ३३ रुपैयाँ बिगो मागदाबी गरेको छ । सहकारीबाट गोर्खा मिडियामा उक्त रकम गएको भन्दै सञ्चालकद्वय जिबी राई र रविको हकमा बिगो मागदाबी गरेको हो । रास्वपा सभापति लामिछानेलाई जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकालीको हिरासतमा राखिने प्रहरीले जनाएको छ ।
प्रहरीले नै सोमबार लामिछानेलाई अदालतमा उपस्थित गराउनेछ । लामिछाने आइतबार आफै अदालत हाजिर भएका थिए । आइतबार लामिछानेको बयान सके पनि सरकारी वकिलले समय माग गरेपछि थुनछेक बहस भएको थिएन ।
लामिछानेले आफू अदालत हाजिर भएकोले परिवारको जिम्मा लगाउन आग्रह गरेका थिए । उनका वकिलहरूले पनि परिवार वा वकिलको जिम्मामा छाड्न भनेका थिए । तर न्यायाधीशले प्रहरीको जिम्मा लगाउने आदेश दिएका हुन् ।
जिल्ला न्यायाधीशले प्रहरीको जिम्मा लगाउने आदेश दिएपछि लामिछानेले–श्रीमानको आदेश स्वीकार गर्छु भनेका थिए ।
थुनछेक बहस नहुँदाको अवस्थामा प्रायः आरोपीलाई प्रहरीलाई नै जिम्मा लगाउने गरिन्छ । रास्वपा सभापति
लामिछानेलाई सुर्यदर्शन सहकारी पोखराको मुद्दामा जिल्ला अदालत कास्कीले यसअघि ६५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । यसअघि लामिछाने सुर्यदर्शन सहकारी मुद्दामा कास्की प्रहरी हिरासतमा ८४ दिन बसेका थिए ।