काठमाडौं । प्रतिपक्षी तीन राजनीतिक दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । सिंहदरबारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच छलफल भइरहेको हो ।
उनीहरूबीचको छलफलको विषय बाहिर आइसकेको छैन । सत्ताधारी दुई दल कांग्रेस र एमालेबीच खटपट चलेको चर्चा भइरहँदा विपक्षी नेताहरूको उठबसलाई चासोका साथ हेरिएको छ ।
खासगरी प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओलीले संविधान संशोधन २०८७ सालमा मात्रै हुने अभिव्यक्ति दिएपछि कांग्रेस नेताहरूले प्रतिवाद गर्न थालेका छन् ।
नेताहरू एनपी सावद, मीनेन्द्र रिजाल र अर्जुननरसिंह केसीले कांग्रेस–एमालेबीच भएको सात बुँदे सहमतिको औचित्य समाप्त भएको बताइरहेका छन् ।
सत्ताधारी दलबीच खटपट बढेका बेला प्रचण्ड र नेपालबीच बिहीबार पनि छलफल भएको थियो । हालै लिङ्देनले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका थिए ।