काठमाडौं । नेपाल मगर संघ केन्द्रीय समितिको प्रचार प्रसार तथा संचार र प्रकाशन विभागको आयोजनामा २०८१ को माघे सकरातीको अवसरमा माघे सकराती मेलाको आयोजना गरिँदैछ ।
यही पुस २९ गते र माघ १ गते सो माघी मेलाको आयोजना गर्न लागिएको हो । काठमाडौंको टुडिखेलमा मेलाको आयोजना गर्न लागिएको छ ।
सो माघी मेला सम्पन्न गर्नका लागि हाइभिजन हाउजिङ ल्याण्ड तथा ट्रेडर्स प्राइभेट लिमिटेड मुख्य प्रायोजक रहेको छ भने सहप्रयोजक संस्थाहरुमा नेपाल टेलिकम, प्रभु बैंक, गोल्डेन ओएक र गोर्खा रहेका छन् ।
‘यही पौष २९ र माघ १ गते टुँडिखेल काठमाडौं जाऔं, मगर जातिको महान पर्व माघे सकराती भव्यरुपमा मनाऔं ’ भन्ने मुलनाराका साथ कार्यक्रमको आयोजना गरिएको छ ।
मगर समुदायका मानिसहरुले प्रत्यक वर्ष माघी पर्व मनाउँदै आउने क्रममा यसपालिको माघी पर्व पनि विभिन्न कार्यक्रम गरी देशभरी मनाउँदै छन् ।
माघीमा तरुल, सखरखण्ड, चाकु, सेलरोटी, अचार लगायतका परिकार बनाएर खाने चलन छ । नेपालमा रहेका खस, थारु, मधेसी, तामाङ, गुरुङ, ब्राहमण लगायतका समुदायले पनि माघी पर्व आआफ्नै तरिकाले मनाउने गर्दछन् । माघीको अवसरमा देशका विभिन्न स्थानहरुमा विभिन्न खेलहरुको आयोजना पनि गर्ने गरिन्छ ।
यसै सन्दर्भमा नेपालमा मगर संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुनमगरले माघी पर्व पितृ, प्रकृति र देवीको पूजा गरेर मनाइने पर्व भएकोले सबैले आ–आफ्नो स्थानबाट माघी पर्व मनाउन र शुभकामना आदान प्रदान गर्न आग्रह गरेका छन् ।
काठमाडौंको टुँडिखेलमा आयोजना गर्न लागिएको माघे सकराती मेलाको मिडिया पार्टनरको रुपमा गोलखबर डटकम, सरोकार मिडिया, मगर मिडिया र मनास्लु पोष्ट रहेका छन् ।