• पुष २३ २०८१, मंगलवार

प्राथमिकताको आधारमा पर्यटन गन्तव्य बनाउँछौं : पर्यटनमन्त्री पाण्डे

पुष १९ २०८१, शुक्रबार

१९ पुस, काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले सरकारले प्राथमिकताको आधारमा पर्यटन गन्तव्य बनाउने बताएका छन् । शुक्रबार प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री पाण्डेले नेपालको हरेक ठाउँहरू पर्यटकीय गन्तव्य बनाउनुपर्ने भएकाले सरकार प्राथमिकताका आधारमा अघि बढ्ने बताए । पर्यटन प्रवद्र्धनका क्षेत्रमा काम गर्ने निकायहरू प्राथमिकीकरणको विषयमा अल्झिरहेकाले योजनाहरू समयमै सम्पन्न गर्न नसकिएको बताए ।

‘पर्यटन बोर्ड अथवा पर्यटन विभागतिर पर्यटन गन्तव्य बनाइदिन भन्दै धेरै प्रस्तावहरू आउने गरेका छन् । नेपालको कुन त्यस्तो टकुरा छैन ? कुन त्यस्तो भूगोल छैन ? जैविक विविधतादेखि लिएर विभिन्न कारणले पर्यटन गन्तव्य बनाउनुपर्ने ठाउँहरू छन् । त्यसलाई प्राथमिकीकरण कसरी गर्ने ? प्राथमिकताहरुको प्राथमिकीकरण कसरी गर्ने भन्नेमा हामी सबैको ध्यान जानुपर्छ,’ उनले भने ।

पर्यटन प्रवद्र्धनका लागि निजी क्षेत्रसँगै तीनै तहको सरकारले समन्वय र सहकार्य गर्न जरुरी रहेको बताउँदै उनले देशभरका होटलहरूको स्तरअनुसारको मापदण्ड बनाउनका लागि मन्त्रालयले कार्यदल गठन गरेको समेत जानकारी गराए । ‘मेचीदेखि महाकालीसम्म खोलिन होटल र होटलको मापदण्ड एउटै भएन भनेदेखि अफ्ठ्यारोपर्छ भनेर त्यसमा स्थानीय तह र प्रदेश तह समेत संलग्न भएको विषय समितिलाई सक्रिय बनाएर त्यसको मापदण्ड गर्ने एउटा कार्यदल बनाएका छौं । मापदण्ड तयारी हुँदैछ,’ उनले भने ।