• माघ १७ २०८१, बिहीबार

छड्के जाँचको प्रणाली नबनाई अभिमुखीकरणमा आइरिस अनिवार्य

पुष २ २०८१, मंगलवार

२ पुस, काठमाडौं । अब वैदेशिक रोजगारीमा जानुअघि दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम कक्षामा श्रमिकहरुको रेटिना जाँचमार्फत (आइरिस रिकग्निसन) हाजिरी गरिने भएको छ। सबै अभिमुखीकरण कक्षा सञ्चालन सेवा प्रदायकहरुलाई भोलि बुधबार (३ पुस)देखि यो आइरिस प्रणाली अनिवार्य गर्न वैदेशिक रोजगार विभागले अनिवार्य गर्न लागेको हो । सरकारले तालिम कक्षमा श्रमिकलाई तालिम नै नदिई हाजिर मात्रै गराउने अवस्था अन्तय गर्न लागु गर्न लागेको आइरिस प्रणाली पनि अहिले प्रयोगमा रहेको बायोमेट्रिक (फिंगरप्रिन्ट) प्रणालीजस्तै बेकामको बन्ने देखिएको छ।

अहिलेसम्म प्रशिक्षार्थी श्रमिकले अभिमुखीकरण कक्षामा उपस्थित हुँदा हातको औंलाको बायोमेट्रिक (फिंगरप्रिन्ट) सिस्टममार्फत हाजिरी मात्रै लिने गरिएको छ । अब आइरिस रिकग्निसन सिस्टमबाट रेटिनाको पनि नमूना लिन लागिएको वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले बताए। ‘अभिमुखीकरण कक्षामा श्रमिक उपस्थित नै नगराउने र उपस्थित भएपनि बायोमेट्रिक मात्रै लिने गर्दा कक्षा प्रभावकारी नभएपछि आइरिस सिस्टम अनिवार्य गर्न लागेका हौं,’ उनले भने,‘श्रमिकले अभिमुखीकरण कक्षमा दिएको आइरिसको नमूना विदेश जान लागेका सम्बन्धित श्रमिकसँग मिलेरनमिलेको जाँच गर्ने व्यवस्था पनि छिट्टै गर्छौं ।’

अहिलेसम्म भने आइरिस सिस्टममा लिइने रेटिनाको नमूना ‘म्याच’ भएरनभएको जाँच्ने गरी प्रणाली नै बनाइएको छैन । यसले गर्दा फिंगरप्रिन्ट बायोमेट्रिक लिए पनि त्यसको उचित उपयोग नभएजस्तै आइरिस प्रणाली औचित्यहिन हुने देखिएको छ । ‘श्रमिकसँग लिइने आइरिस नमूना राष्ट्रिय परिचयपत्रको प्रणलाीसँग म्याच गराएर हेर्ने गरी प्रविधि विकास गर्न लागेका छौं,’ विभागका महानिर्देशक खत्री भन्छन,‘त्यसका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग सहमति गर्ने तयारी छ ।’

दुई प्रणालीहरु अन्तरआवद्ध गरेपछि मात्रै श्रमिकले अभिमुखीकरण कक्षामा पुगेर दिने रेटिनाको नमुना राष्ट्रिय परिचयपत्र दिँदा लिइएको आइरिस नमूनासँग मिल्नुपर्नेछ। अहिले भने विभागले विगतमा बायोमेट्रिक लिएर कतै जाँच्ने प्रणाली नभएजस्तै गरी आइरिस पनि कतै चेक नहुने गरी लागु गर्न खोजिएको छ। यसले गर्दा शुल्क लिएर अभिमुखीकरण कक्षा नचलाई श्रमिक विदेश पठाउने क्रम तत्कालै नरोकिने देखिएको छ।

विभागका महानिर्देशक खत्री भने निकट भविष्यमा नै राष्ट्रिय परिचयपत्र प्रणालीसँग अन्तरआवद्ध गरेर आइरिस प्रणालीलाई प्रभावकारी बनाउने बताउँछन् । अहिले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अनिवार्य रुपमा दिनुपर्ने २ दिने अभिमुखीकरण कक्षा प्रक्रिया पूरा गर्न र शुल्क उठाउन मात्रै सीमित भएको छ । तालिम प्रदान गर्ने संस्थाहरुले तोकिएको पाठ्यक्रममा प्रभावकारी कक्षा चलाउनुको साटो हाजिर मात्रै गराएर फर्काइदिने गरेको सरकारले गरेको अनुगमनमा भेटिने गरेको छ ।

विदेश जाने श्रमिकलाई सम्बन्धित देशको भूगोल, संस्कृति, कानुन, नियमर श्रमिकले ध्यान दिनुपर्ने स्वास्थ्यलगायतका अनेकन पक्षहरुबारे जानकारी दिन अभिमुखीकरण कक्षा दिने व्यवस्था गरिएको छ । यसका लागि श्रमकिले तोकिएका तालिम सेवाप्रदायकलाई ७ सय रुपैयाँ शुल्क बुझाउने गरेका छन् । गत असार १० देखि ७ साउनसम्म वैदेशिक रोजगार विभागले ५० वटा तालिम प्रदायकहरु अनुगमन गर्दा ४६ वटा संस्थामा तालिम नै नदिने गरेको पाइएको थियो ।

हाजिर गरेर प्रशिक्षार्थीहरु कक्षा कोठामा नै नराख्ने गरिएको भेटिएपछि आइरिस सिस्टम लागु गर्ने योजना बनेको थियो । कतिपयले अन्य व्यक्तिलाई हाजिर गर्न लगाएर प्रक्रिया पूरा गर्ने गरेको भेटिएको थियो । अहिले बायोमेट्रिक हाजिरी गरेपछि अनलाइन देखिने गरी वैदेशिक रोजगार सुचना प्रणलीमा अनलाइन देखिने गरेको छ, यसकै आधारमा तालिम लिएको मानेर विभागले श्रम स्वीकृति दिने गरेको छ ।

अहिले विभागले आइरिस प्रणाली लागु गरेपनि श्रमिकहरुलाई अभिमुखीकरण कक्षामा पुरै समय राखेर तालिम दिइन्छ भन्ने सुनिश्चित हुने अवस्था छैन । अन्य व्यक्तिलाई हाजिर गर्न लगाउने प्रवृत्र् िरोक्न पनि तुरुन्तै राष्ट्रिय परिचयपत्र प्रणालीको विवरणसँग भिडाएर हेर्ने व्यवस्था तुरुन्तै गर्नुपर्ने विभागका अधिकारीहरुको भनाइ छ ।