सामाजिक सञ्जालको झरिलो(भरिलो कथामा बेलाबखत यसरी ट्वीस्ट आउँछ कि, त्यसमा एकोहोरिएका प्रयोगकर्तालाई रुनु न हाँस्नु हुन्छ । अनि हिजो जहाँ उनीहरु सद्भाव राख्थे, त्यसैमा गाली बर्साउन थाल्छन् । कसैलाई रातारात ‘आइडल’ बनाएका यही भर्चुअल जमात उसैगरी पत्तासाफ गर्न लागिपर्छन् । यति भूमिका बाँधेपछि तपाईंले अनुमान गर्नु नै भयो यो कथाको केन्द्रमा को(को छन् भनेर, खासगरी टिकटक प्रयोगकर्ता हुनुहुन्छ भने । निसन्देह यसको सेरोफेरोमा छन् आयुशसिंह ठकुरी र अलीजेह जमाली । दुवैको साझा चिनारी हो, टिकटकर । त्यही आलोकबाट उनीहरु ‘भाइरल’ भए । तर, अहिले स्थिती कसरी उल्टिएको छ भने टिकटकबाट उनीहरु भाग्नुपर्ने अवस्थामा आइपुगे । जबकि अलिजेहको एकाउन्टमा २२ लाख बढी फलोअर्स थिए भने आयुषको एकाउन्टमा १३ लाख । यो जोडी ‘लाइभ बस्दा’ लाखौं झुम्मिएका हुन्थे । यसरी नै उनीहरुले सानै उमेरमा चर्चा कमाए, पैसा पनि । गाडी किने, घर पनि ।
उद्यम थाले, समाजसेवा पनि । नाचे, गाए, रमाए । सबै ठीकठाक चल्दै थियो । अनायस उनीहरुको जिन्दगानीमा तेस्रो व्यक्तिको खोजी सुरु हुन्छ । अर्थात आयुषकी आमा नानुसिंह ठकुरी । आयुष–अलिजेह टिकटक लाइभमा बस्छन् र आमाको बारेमा केही दुखेसो पोख्छन् । वश, यहीँबाट सुरु हुन्छ एउटा महाभारत । आखिर सद्भाव र स्नेहको भाषा बद्लिन समय लाग्दैन । सो तुरुन्तै भनाभन, आरोप, घृणा र आक्रोसमा रुपान्तरण हुन्छ ।
त्यो कतिसम्म भद्दा र भारी हुनपुग्छ भने आयुश–अलिजेह एकाएक टिकटकबाट गायब हुनपुग्छन् । उनीहरु स्वयम्ले टिकटक एकाउन्ट ‘डिएक्टिभेट’ गरे वा उजुरीको आधारमा ‘प्रतिबन्धित’ भयो ? स्पष्ट हुन्न । यसबीचमा अलिजेह इन्स्टाग्राममा प्रस्तुत हुन्छिन् । यसो भन्दै, ‘हामीले आफ्नो टिकटक एकाउन्ट डिएक्टिभेट गरेका छौं । कुनै कारणबिना धेरै नकारात्मकता फैलिएको छ । म यहाँ परिवारसँग छु र म मानसिक शान्ति चाहन्छु ।’
अब अन्य तानाबानामा लाग्नुअघि आयुष–अलिजेहको एकसरो यात्रातर्फ लागौं । ‘अबुई विदेशी ‘हेलो ।’ यही संवादबाट सुरु हुन्छ आयुष सिंह ठकुरी र अलिजेह जमालीको प्रेम सम्बन्ध । दुबईमा बसोबास गरिरहेकी पाकिस्तानी मुलकी टिकटकर अलिजेह र नेपाली किशोर आयुषलाई जोड्ने सूत्रधार बन्छ, टिकटक । अक्सर कालो बुर्काले अनुहार ढाकेर देखापर्ने अलिजेह अनि आयुष टिकटक लाइभमा बस्छन् र एकअर्कासँग ख्यालठ्टा गर्न थाल्छन् ।
फरक भूगोल, फरक भाषा, फरक संस्कृतिमा हुर्किएका यी युवा–युवतीको ठट्यौली कुराकानी धेरैका लागि रुचिकर बन्छ । उनीहरु आपसमा एक भए कति काइदा होला ? यही उत्सुकतासँगै दर्शकहरु टिकटक लाइभमा झुम्मिन्छन् । आखिरमा उनीहरु एकअर्कालाई प्रेम गर्न थालेको बताउँछन् र काठमाडौंमा भेट्ने उद्घोष गर्छन् । यसले टिकटकका दर्शकलाई थप हौस्याउँछ । उनीहरु त्यही दिनको प्रतिक्षा गर्न थाल्छन, जुन दिन आयुष र अलिजेह एउटै फ्रेममा देखिनेछन् ।
त्यो दिन पनि आउँछ । गएको जेठ महिनाको दोस्रो साता दुबईबाट अलिजेह त्रिभूवन विमानस्थलमा ओर्लन्छन, तीन जना बडीगार्डसहित । उनलाई स्वागत गर्न आयुष विमानस्थलमा उपस्थित हुन्छन् । टिकटकमा उनीहरुलाई नियमित हेरिरहेका दर्शकका लागि आयुष–अलिजेहको यो मिलन कुनै लभस्टोरी फिल्मको क्लाइमेक्स भन्दा कम रोमान्चक हुँदैन । यस भेटमा दुवैले म्युजिक भिडियो खेल्नेदेखि मुलुकको पर्यटकिय स्थल र संस्कृतिको उजागर गर्ने वाचा गर्छन् ।
यिनीहरुको टिकटक लाइभमा एकसाथ दुई लाख दर्शक झुम्मिन्छन् । उनीहरु अभिनित म्युजिक भिडियोले युट्युबमा एकै दिनभित्र लाखौं भ्युज पाउँछ । आयुष–अलिजेह जहाँ–जहाँ पुग्छन्, उनीहरुलाई हेर्ने र सेल्फी खिच्नेको भिड लाग्छ । अब यी दुईले दुबईमा पुगेर ‘इगेजमेन्ट’ गर्छन् । कालो बुर्काले अनुहार ढाकेकी अलिजेहलाई नेपाली टिकटक प्रयोगकर्ताहरुले स्नेहसाथ ‘बुहारी’ सम्बोधन गर्छन् । आयुषसँगको इंगेजमेन्टपछि उनले बुर्का खोलेर आफ्नो अनुहार सार्वजनिक गर्छिन् ।
यसबीचमा उनीहरु कहिले लताकपडा बोकेर दुर्गम गाउँमा पुग्छन्, कहिले पाठ्य सामग्री बोकेर विद्यालय पुग्छन्, कहिले खानेकुरा लिएर बृद्धाश्रम पुग्छन्, कहिले आर्थिक सहयोग बोकेर अस्पताल पुग्छन् । यसरी ‘लाइभ बसेर’ कमाएकोमध्ये ५० लाख बढी विभिन्न क्षेत्रमा सहयोग दिएको बताउँछन् । नेपाली भाइ(बुहारीको रुपमा सर्वत्र सद्भाव र माया कमाइरहेका उनीहरुले आफ्नो छुटै उद्यम सुरु गर्छन, पहिरनको । त्यसपछि उनीहरुले आफ्ना प्रशंसकलाई थप चकित तुल्याउँदै एक आलिशान घर देखाउँछन् र सो घर आफूहरुले खरिद गरेको बताउँछन् । २१ वर्षे युवाले गरेको यस्तो प्रगतिमा सबैजना उमंगित हुन्छन् ।
यद्यपि यही खुसी बाढेको धेरै समय बित्न नपाई उनको जीवन विवाद र आलोचनको भुँमरीमा फस्छ । घर खरिद गरेपछि आयुष–अलिजेह टिकटक लाइभमा आउँछन् । भन्छन, ‘म २१ बर्ष उमेरको मान्छे । धेरै कुरा भोगेर, गरेर यहाँसम्म आइपुगेको छु ।’ यसक्षण उनी खुसीभन्दा बढी आफ्ना दुःखहरु सुनाउन थाल्छन् ।