• आश्विन ४ २०८१, शुक्रबार

भोलि विश्वकर्मा पूजा मनाइँदै, को हुन् भगवान विश्वकर्मा ?

भाद्र ३१ २०८१, सोमबार

काठमाडौं ।  विश्वकर्मा पूजा । विश्वकर्मा पूजा भन्नसाथ हामी विभिन्न कलकारखाना, पार्टपूर्जा, यन्त्रको पूजाआजा गर्छौं । आखिर किन यसो गरिएको होला ?

असोज १ गतेका दिन भगवान विश्वकर्माको जन्म दिन हो । त्यसैले आज उनको पूजा गरिन्छ ।

पौराणिक मान्यता अनुसार महादेवले ब्रह्मा र विष्णुलाई सृष्टिको सृजना र पालनको जिम्मेवारी दिएका थिए । सृष्टिको सृजना गर्ने क्रममा ब्रह्माले आफ्नो वंशजदेव शिल्पी विश्वकर्मालाई नयाँ दुनियाँ निर्माणको आदेश दिए । ब्रह्माको आदेश अनुरूप विश्वकर्माले स्वर्ग, पुष्पक विमान, दैनिक उपभोग्य सामान निर्माण गरे भन्ने गरिन्छ । त्यस्तै इन्द्रको बज्र, शिवको त्रिशूल, विष्णुको सुदर्शन चक्र कृष्णको द्धारिका, सुनको लङ्का बनाएको मान्यता छ ।

बाबा विश्वकर्मा महान् आध्यात्मिक थिए जसले नयाँ विश्वको निर्माणमा आफ्नो योग्यता र दक्षता प्रयोग गरेका थिए ।
विश्वकर्मालाई विश्वकै सबैभन्दा पहिलो इन्जिनियर र वास्तुकार पनि मानिन्छ । उनले पाताल, मध्यलोक र स्वर्गलोक गरी तीनै लोकको निर्माण गरेका थिए । भगवान विश्वकर्माको महत्वको वर्णन ऋग्वेदमा ११ ऋचाहरू लेखेर गरिएको छ । उनको अनन्त र अनुपम कृतिमा सत्ययुगमा स्वर्गलोक, त्रेतायुगमा लङ्का, द्वापरयुगमा द्वारिका र कलियुगमा जगन्नाथ मन्दिरको विशाल मूर्ति आदि रहेका छन् ।

विश्वकर्मा भगवानको हातमा विभिन्न अलङ्कारहरू देखाइएको छ । ति अलङ्कारको भिन्नाभिन्नै महत्व छ । उनको एउटा हातमा शास्त्र देखाइएको छ । जसले उनको विचार कति श्रेष्ठ र महान् थिए । उनी कति ज्ञानी थिए भन्ने बुझिन्छ । उनको दोस्रो हातमा डोरी देखाइएको छ । जसले जीव आत्माभित्र भएका अनेकतालाई एकतामा बाँध्नका लागि एक आध्यात्मिक व्यक्तिमा स्नेह, शुभ भावना र प्रेम हुनुपर्दछ तब मात्र सम्पुर्ण जीवआत्मालाई एकताको सुत्रमा बाध्न सकिन्छ भन्ने भाव दिन्छ ।

त्यस्तै हतौडाले मनुष्यको आत्माभित्र भएको नकारात्मक प्रवृतिलाई हतौडाले हानेर एक महान व्यक्तित्व निर्माण गर्न सकिने भाव दिन्छ । कमण्डलुले त्याग र तपस्यालाई जनाउँदछ । भगवान विश्वकर्मासँग आध्यात्मिक विवेकशुन्य भएका विवेकहिन, मन्त्रहिन र सत्कर्महिन भएका जीवात्मालाई मुर्छाबाट बिउँझाउने र अमृत रस छर्केर मूर्छित जिवात्मामा आध्यात्मिक प्राण भर्ने क्षमता थियो भन्ने भाव जनाउन कमण्डलु लिएको देखाइन्छ ।

हाँसलाई  पवित्रताको प्रतिक मानिन्छ । जसरी हाँसले दुध र पानीलाई अलग गर्दछ । त्यसरी नै पवित्र व्यक्तिले पाप र धैर्य, सत्य र असत्यलाई सजिलै छुट्याउन सक्दछ । आफ्नो कलालाई नव व्यक्तित्व निर्माणमा लगाउन सक्दछ भन्ने बुझाउँछ ।

 कमलको फुल अनाशकत्व र निलिप्तताको प्रतिक हो । विश्वकर्मा भगवान संसारमा रहेपनि संसारातित, देहमा रहेपनि देहातित, कर्म गरेर कर्मातित थिए भन्ने जनाउन कमलको फूल देखाइएको हो ।

 विश्वकर्माको हँसिलो मुहारले स्वर्णिम युगको झलक देखाउँछ । उनले लगाएको सेतो वस्त्रले पवित्रता र शान्तिको झलक दिन्छ ।