काठमाडौं । पछिल्ला वर्षमा कक्षा १२ उत्तीर्णपछि विद्यार्थी थप शिक्षा र रोजगारीका लागि विदेश जाने क्रम बढ्दो छ । विद्यार्थीलाई यही रोक्नका लागि विश्वविद्यालयले पुराना पाठ्यक्रमलाई परिमार्जनगरी समय सुहाउँदो बनाउन थालेका छन् ।
पोखरा विश्वविद्यालयको विज्ञान तथा प्रविधि सङ्कायका डिन प्रा. राजेशकुमार ठकुराठी विश्वविद्यालयले विद्यार्थीको आकर्षण बढाउने गरी पाठ्यक्रम परिमार्जन गरेको बताउँछन् । युनाइटेट टेक्निकल कलेज भरतपुरले शुक्रबार आयोजना गरेको स्नातक र स्नातकोत्तरका नयाँ कार्यक्रम सुभारम्भका अवसरमा उनले भने, ‘पाठ्यक्रम अहिलेको परिवेश सुहाउँदो बजारले माग गरेअनुसारको बनाएका छौँ ।’
सैद्धान्तिक ज्ञान मात्रै नभएर प्रयोगात्मक कक्षामा जोड दिइएको डिन ठकुराठीले बताए । पहिलेपहिले इन्टर्नसिप नहुने गरेकामा इञ्जिनियरिङ सङ्कायमा तीन महिनाको अनिवार्य इन्टर्नसिप गराएको उनले बताए । उनले भने, ‘सीपमूलक पाठ्यक्रम बनाएका छौँ ।’
स्नातक तहमा क्याम्पसलाई आफूलाई चाहिने विद्यार्थी भर्ना गर्न पाउने व्यवस्था विश्वविद्यालयले गरेको छ । छात्रवृत्ति अन्य विश्वविद्यालयको तुलनामा आफूहरूले बढी दिएको उनले बताए । विश्वविद्यालयले एक वर्षमा स्नातक तहमा मात्र एक हजार एक सय जनाभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति दिएको छ ।
आङ्गिक क्याम्पसमा २० प्रतिशत र सम्बन्धन प्राप्त कलेजमा १० प्रतिशत छात्रवृत्ति दिने गरेको ठकुराठीले जानकारी दिए । विश्वविद्यालयमा ५८ सम्बन्धन प्राप्त, आङ्गिक चार र संयुक्त आङ्गिक तीन कलेज छन् । विज्ञान तथा प्रविधि सङ्कायमा २० क्याम्पस छन् । तीमध्ये एउटा आङ्गिक, एउटा संयुक्त आङ्गिक र १८ सम्बन्धन प्राप्त छन् । सबै कलेजले विद्यार्थी कोटाअनुसार पुर्याउन नसकेको उनले बताए ।