• मंसिर १२ २०८१, बुधबार

पहिलो १० महिनामा १ खर्ब ३ अर्ब ४७ करोड रुपैयाँ वैदेशिक सहायता प्रतिवद्धता प्राप्त

श्रावण १ २०८१, मंगलवार

काठमाडौं । नेपालले गत आर्थिक वर्ष २०८०–०८१ को पहिलो १० महिनामा १ खर्ब ३ अर्ब ४७ करोड रुपैयाँ वैदेशिक सहायता प्रतिवद्धता प्राप्त गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७९–०८० को पहिलो १० महिनाको तुलनामा यो रकम ३२ प्रतिशतले कम हो ।

अर्थ मन्त्रालयका अनुसार नेपालले २०८)० साउनदेखि २०८१ वैशाखसम्मको १० महिनामा उक्त वैदेशिक सहायता प्रतिवद्धता प्राप्त गरेको हो । अघिल्लो आर्थिक वर्ष २०७९–८० को पहिलो १० महिनामा नेपालले १ खर्ब ५२ अर्ब ७ करोड रुपैयाँ वैदेशिक सहायता प्रतिवद्धता प्राप्त गरेको थियो ।

गत आर्थिक वर्ष २०८०–०८१ को पहिलो १० महिनामा प्राप्त प्रतिवद्धतामा अनुदान र ऋणको हिस्सा क्रमशः ४१.१ प्रतिशत र ५८.९ प्रतिशत छ । अघिल्लो आर्थिक वर्षको वैशाखसम्मको वैदेशिक सहायता प्रतिवद्धतामा अनुदान र ऋणको हिस्सा क्रमशः २५ र ७५ प्रतिशत थियो ।

गत आर्थिक वर्षको पहिलो १० महिना प्राप्त भएको वैदेशिक सहायता प्रतिवद्धतामध्ये एसियाली विकास बैंकबाट ४६.९ प्रतिशत र विश्व बैंक समूहबाट १५.८ प्रतिशत छ ।

यस अवधिमा प्राप्त वैदेशिक सहायता प्रतिवद्धतामध्ये सबैभन्दा बढी सहरी विकास क्षेत्रमा २१.३ प्रतिशत छ । सबैभन्दा न्यून वातावरण क्षेत्रमा ०.२ प्रतिशत छ ।

आर्थिक वर्ष २०८०–०८१ को पहिलो १० महिनामा ५१ अर्ब २१ करोड रुपैयाँ वैदेशिक अनुदान प्राप्त भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो अनुदान रकम ४८ अर्ब ५१ करोड रुपैयाँ रहेको थियो ।