• मंसिर १२ २०८१, बुधबार

राजस्वले माग्यो भन्सार विभागसँग ईभी आयातको विवरण

असार २७ २०८१, बुधबार

काठमाडौँ । राजस्व अनुसन्धान विभागले विद्युतीय सवारी साधन (ईभी)को आयातसँग सम्बन्धित सम्पूर्ण कागजात मगाएको छ । आयात–निर्यातसँग सम्बन्धित निकाय भन्सार विभागलाई पत्र लेख्दै विद्युतीय सवारी आयातकर्ताले आयातका क्रममा बुझाएको सम्पूर्ण विवरण उपलब्ध गराउन भनेको हो ।

विद्युतीय सवारी साधनले कर छली गरेर राज्यलाई अर्बौं रुपैयाँको हानि नोक्सानी गराएको आरोप छ । भन्सार विभागले विद्युतीय सवारी साधनमा कर छली भइरहेको आशङ्का गर्दै तातोपानी र रसुवा भन्सार कार्यालयलाई पत्र लेखेको थियो ।

त्यसपछि विद्युतीय सवारीले भन्सार छली गरेको आरोपमाथि अनुसन्धान विभागले अनुसन्धान अघि बढाएको छ । राजस्व अनुसन्धान विभागले एक महिना यता विद्युतीय सवारी साधनले कर छली गरे–नगरेको विषयमा छानबिन गर्दै आएको छ ।

विभागसँग कुनै पनि विषयमाथि ६ महिनासम्ममा छानबिन गर्न सक्ने अधिकार छ । ‘यतिबेला हामीले छानबिन गरिरहेका छौँ । एउटा कम्पनीबाट कागजपत्र लिएका छौँ र आवश्यकताअनुसार थप कागज पनि मगाइरहेका छौँ,’ अनुसन्धानमा संलग्न एक कर्मचारीले भने ।

सम्बन्धित कम्पनीबाट आएको कागजात हेरेपछि भन्सार विभागसँग थप कागजात माग गरिएको छ । राजस्व अनुसन्धान विभागले भन्सार विभागलाई लेखेको पत्रमा आयातीत विद्युतीय सवारी साधन उत्पादन भएको मुलुक, भन्सार जाँचपास भएको मूल्य, कर तिरेको मूल्य र मोटर पिक पावर र क्षमता खुलाइदिन भनिएको छ । यस्तै कुन ब्राण्डको कति विद्युतीय सवारी साधन आएको भन्ने तथ्यसमेत राख्न राजस्वले भन्सारलाई लेखेको पत्रमा उल्लेख छ ।