धनगढी । डडेलधुरामा घाँटी रेटिएको अवस्थामा जंगलमा फेला परेका ओभरसियर डम्बरदेव भट्टको मृत्यु भएको छ । शनिबार डडेलधुराको अमरगढी नगरपालिका–५ का ४५ वर्षीय भट्ट घाँटीमा चक्कुले रेटिएको अवस्थामा फेला परेका हुन् ।
उनी घर नजिकैको जंगलमा फेला परेको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रमुख (डीएसपी) दीपक कार्कीले बताए । उनका अनुसार घटनास्थलमा चक्कु पनि फेला परेको छ । डम्बर हिजो बेलुकादेखि हराएका थिए । हिजो बेलुका ६ बजेदेखि हराएका उनी खोजतलासका क्रममा बिहान फेला परेका हुन् ।
उपचारका लागि उनलाई डडेलधुरा अस्पतालले धनगढी रिफर गरिएको थियो । धनगढीमा उपचारकै क्रममा ओभरसियर भट्टको मृत्यु भएको उद्योग वाणिज्य संघ डडेलधुराका अध्यक्ष द्विजराज भट्टले जनाए । सब ओभरसियर रहेका उनी निर्माण व्यवसायी समेत हुन् ।
निर्माण कार्य सम्पन्न गरिसक्दा समेत सम्बन्धित कार्यालयले भुक्तानी नदिएपछि उनी आर्थिक समस्यामा रहेको आफू निकट साथीहरूलाई बताउँदै आएका थिए । आर्थिक अवस्था नाजुकहुँदै गए पछि उनी केही तनावमा रहेको कुरा खुल्न आएको छ ।
उनले आर्थिक कारणले हुनसक्ने मानसिक तनाव सहन नसकेर आत्महत्याको प्रयास गरेको हुन सक्ने जनाएको छ । भट्टले शुक्रबार साँझबाट घर छोडेका थिए । रातिसम्म घर नफर्किएपछि उनका आफन्तले खोजी गरेको तर नभेटिएको जनाए ।
उनी आज बिहान मात्रै घाँटी चक्कुले रेटेको र रकताम्य अवस्थामा भेटिएका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनको शव अहिले डडेलधुरा ल्याउने आफन्तले जनाएका छन् ।