काठमाडौं । सांसदहरूले एसईई परीक्षामा ५२ प्रतिशतभन्दा बढी अनुत्तीर्ण भएपछि असन्तुष्टि जनाएका छन् ।
उनीहरूले यससम्बन्धमा गहन अध्ययन गर्नुपर्ने धारणा राखेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसदहरूले एसईई परीक्षाको परिणामप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।
उनीहरूले ५२ प्रतिशतभन्दा बढी विद्यार्थीहरू अनुत्तीर्ण हुनुको कारण खोजबिन गर्नुपर्ने बताएका छन् । सांसदहरूले धेरै विद्यार्थीहरू अनुत्तीर्ण हुनुको दोष सरकारकै रहेको बताएका छन् । बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले ५२ प्रतिशत विद्यार्थी असफल हुनु भनेको राष्ट्र नै असफल हुनु भएको टिप्पणी गरिन् ।
उनले नेपालको शिक्षा प्रणाली र सरकार नै असफल भएको बताइन् । उनले यसप्रति शिक्षा मन्त्रालयलाई गम्भीर हुन आग्रह गरिन् ।
त्यस्तै नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले विद्यार्थी अनुत्तीर्ण भएका हुन् कि सरकार अनुत्तीर्ण भएको हो भनी प्रश्न गरे । उनले शिक्षामा गुणस्तरीयता नभएका कारण यसप्रकारको परिणाम आएको बताए । उनले २ लाख ४२ हजारभन्दा बढी विद्यार्थीहरूलाई उच्च शिक्षा पढ्ने हैसियत छैन भनेर सरकारले भन्न नमिल्ने बताए ।
बैठकमा बोल्दै जनता समाजवादी पार्टी, नेपालकी सांसद रेखा यादवले विद्यार्थीहरू अनुत्तीर्ण हुनुको कारणको अध्ययन गर्नुपर्ने धारणा राखिन् । उनले ५० वर्षे पुरानो शिक्षा नीतिको ढर्रा कहिले तोड्ने ? भनी प्रश्न समेत गरिन् ।