• मंसिर १३ २०८१, बिहीबार

एमाले नेता मदन भण्डारीको ७३औँ जन्मजयन्ती मनाइँदै

असार १५ २०८१, शुक्रबार

काठमाडौं । आज नेकपा (एमाले) का तत्कालीन महासचिव मदनकुमार भण्डारीको ७३औँ जन्मजयन्ती मनाइँदै छ । देशको कम्युनिष्ट आन्दोलनमा भण्डारीको योगदानको स्मरणका साथ विविध कार्यक्रम गरी उनको जन्मजयन्ती मनाइँदै छ ।

मदन भण्डारी फाउण्डेसनको आयोजनामा आज ललितपुर च्यासलस्थित एमाले पार्टी कार्यालयमा मदन भण्डारी राष्ट्रिय पुरस्कार वितरण तथा जबजः राजनीतिक विकास र स्थायित्व विषयक विचार गोष्ठीको आयोजना गरिएको छ ।

जन्मजयन्तीका अवसरमा यसअघि अनेरास्ववियुले यही असार १२ मा वृक्षरोपण गरेको थियो । मदन भण्डारीले २०४९ माघ १४–२० मा सम्पन्न एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरेर पारित गरिएको ‘जनताको बहुदलीय जनवाद’ अहिले पनि एमालेको मार्गदर्शक सिद्धान्तका रूपमा रहेको छ ।

विसं २००९ असार १४ मा ताप्लेजुङको ढुङ्गेसाँघुमा आमा चन्द्रकला र बुबा देवीप्रसाद भण्डारीको माइला छोराका रूपमा उनको जन्म भएको थियो ।

३ जेठ २०५० मा पार्टीको कामको सिलसिलामा पोखराबाट चितवन जाने क्रममा दासढुङ्गामा दुर्घटना हुँदा उनिसहित पार्टीका सङ्गठन विभाग प्रमुख जीवराज अश्रितको निधन भएको थियो । भण्डारी नेपालको राजनीतिक वृत्तमा माक्र्सवादको नवीन प्रयोगकर्ता, विचारक तथा जनताको बहुदलीय जनवाद सिद्धान्तका प्रवर्तक मानिन्छन् ।