काठमाडौं । नागरिकमाझ राष्ट्रिय स्वतन्त्र पार्टीको वर्तमान अवस्थाका बारेमा समीक्षा प्रतिवेदन बुझाएका महामन्त्री मुकुल ढकालसँग सभापति रवि लामिछाने सहितको एक पङ्क्ति असन्तुष्ट बनेको छ ।
पार्टी नेतृत्वमाझ छलफलै नगरी समीक्षा प्रतिवेदन मिडियालाई दिएको विषयमा उनीमाथि कारबाहीसमेत हुनसक्ने बताइएको छ ।
प्रतिवेदनमा उनले पार्टी बिरामी अवस्थामा रहेको र निको पार्न सामान्य सिटामोलले नभई शल्यक्रिया नै गर्नुपर्ने निचोड सुनाएका छन् । यति मात्र होइन, प्रदेश खारेजी र जनताबाट चुनिने प्रत्यक्ष कार्यकारीको पक्षमा उभिन पनि उनले सुझाएका छन् । प्रतिवेदनमा उनले अहिलेकै अवस्थामा चुनावमा गए पार्टीले निराशाजनक परिणाम पाउने पनि बताएका छन् ।
लामिछानेनिकट नेताहरूले महामन्त्री ढकाललाई जिम्मेवारीमुक्त गर्नुपर्ने आवाज उठाउन थालेको एक नेताले बताए । प्रतिवेदन बुझाउनुअघि नै ढकाल स्वयमले आफू कारबाहीमा पर्ने संकेत गरेका थिए । यद्यपि, बुधबार साँझ उपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका सभापति लामिछानेले आफ्नो पार्टी लोकतान्त्रिक विधिअनुसार चलेको भन्दै यसकै आधारमा कारबाही नगर्ने बताएका थिए ।
तर, उनी महामन्त्री ढकालले पहिल्यै प्रतिवेदन सार्वजनिक गरेको विषयमा रुष्ट रहेको बुझिएको छ । उनीनिकट नेताहरूले महामन्त्री ढकाललाई कारबाही गर्नुपर्ने सुझाव दिएको ती नेताले बताए ।