• मंसिर १३ २०८१, बिहीबार

माओवादी सांसद घर्तीको प्रश्न–अमेरिकी सेनाका विमान बारम्बार किन आइरहेका छन् ?

असार ११ २०८१, सोमबार

काठमाडाैं । नेकपा माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीमगरले नेपालमा अमेरिकी एयरफोर्सका जहाजहरू बारम्बार आइरहेको भन्दै

सरकारसँग जवाफ मागेका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले भने, ‘गत वैशाख ६, ७, ८ र ९ गते अमेरिकी एयरफोर्सका पाँचवटा जहाज कतारबाट प्रत्येक साँझ आउने र बिहान फर्कने गरे । यही असार २ गते पनि मलेसियाबाट सोही एयरफोर्सको जहाज साँझ आएर बिहान फर्कियो । यी जहाजहरूमा के सामान आयो र कसका लागि ल्याइयो ?’

अमेरिकी एयरफोर्सको विमान आएको र गएको विषय सरकारी वा निजी सञ्चारमाध्यम कसैले पनि प्रकाशन–प्रसारण नगरेको भन्दै सांसद मगरले यस विषयमा सरकारको ध्यानाकर्षण गराए ।

‘सामान्य (सामान) हो भने प्राइभेट जहाजमा आउनुपर्ने । सैन्य सामग्री हो भने किन र के प्रयोजनले ल्याइयो ? यसबारे न सरकारी सञ्चारमाध्यमबाट जानकारी भयो, न प्राइभेट सञ्चारमाध्यमबाटै,’ उनले भने ।

नेपालको अस्थिर राजनीति र शक्तिराष्ट्रहरूको स्वार्थका कारण नेपालको सार्वभौमसत्ता र सुरक्षा संवेदनशीलताको अवस्था गम्भीर रहेको उल्लेख गर्दै उनले यस विषयमा गम्भीर हुन आग्रह गरे ।