• मंसिर १३ २०८१, बिहीबार

गैरकानुनी ढंगले महिलालाई विदेश पठाउने काम भएको छ : सांसद गुरुङ

असार ११ २०८१, सोमबार

काठमाडौं । कांग्रेस सांसद धनराज गुरूङले गैरकानुनी ढंगले नेपाली महिलाहरूलाई विदेश पठाउने काम भइरहेको भन्दै तत्काल रोक्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोलेका कांग्रेस उपसभापति समेत रहेका गुरुङले गैरकानुनी बाटोबाट विदेश पुगेका महिलाहरूले साह्रै दुःख पाएको भन्दै उनले यसतर्फ ध्यान दिन सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराएका हुन् ।

घरेलु कामदारका रुपमा महिलालाई विदेश नपठाउने सरकारले निर्णय गरेपनि गैरकानुनी ढंगबाट महिलाहरू विदेश जान क्रम नरोकिएको उनको भनाइ छ । उनले पछिल्लो ६ महिनामा १० हजार महिला गैरकानुनी बाटोबाट कुवेत पुगेको दावी गरे ।

‘कुवेतमा अहिले ४१ हजार नेपाली महिला दिदीबहिनीहरू कामदारका रुपमा रहेका छन् । तीमध्ये २७ हजार दिदीबहिनीहरू गैरकानुनीरुपमा रहेको सूचना प्राप्त गरेको छु । पछिल्लो ६ महिना भित्र १० हजार नेपाली महिला गैरकानुनीबाटोबाट त्यहाँ पुगेको सूचना प्राप्त भएको छ । यो अत्यन्न दुःखद कुरा हो । हामीले घरेलु कामदार बन्द र्गर्यौं । तर त्यहाँ प्रतिनिधिहरू र विभिन्न संघसंस्थाका साथीहरूले सरकारले ढोका बन्द गर्याे तर झ्याल खुला राखिदियो भन्ने गरेका छन् । झ्याल खुलै राखेका कारण महिलाहरूले साह्रै दुःख पाइरहेका छन् । यो कुरा सदनमै पुर्याइदिनु भनेर सन्देश पठाउनु भएको छ,’उनले भने, गैरकानुनीरुपमा यहीँबाट सेटिङ गरेर दुबइहुँदै त्यहाँ पुर्याउँदो रहेछ । यो दुःख विषय हो । घरेलु कारमदारका रुपमा दिदीबहिनीहरूलाई पठाउनु हुँदैन भनेर हामीले निर्णय गरेका छौं । त्यही ठाउँमा ६ महिनाभित्र १० हजार नेपाली दिदीबहिनी पुग्नु योभन्दा खेदजनक के हुनसक्छ ? सभामुख महोदय, यसतर्फ सरकारको ध्यान आकृष्टि हुनुपर्छ ।’