• मंसिर १३ २०८१, बिहीबार

लुम्बिनी सरकारलाई दिएको समर्थन जसपा नेपालले फिर्ता लियो

असार १० २०८१, आईतवार

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । उपेन्द्र यादव नेतृत्वको पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै प्रतिपक्षमा बस्ने निर्णय गरेको हो ।

पार्टीको निर्णय कार्यान्वयन गर्दै प्रदेश संसदीय दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जसपा नेपालकी प्रमुख सचेतक अम्बिका काफ्लेले जानकारी दिइन् ।

यसअघि गत ५ जेठमा बसेको पार्टीको लुम्बिनी प्रदेश समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । सोहीअनुसार संविधानको धारा १८८ को उपधारा २ अनुसार प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिन सक्ने व्यवस्था भए बमोजिम जसपा, नेपाल लुम्बिनी प्रदेशसभा संसदीय दललाई समेत सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन पार्टीले दिइसकेको विज्ञप्तिमा उल्लेख छ ।

पार्टीका दुई जना प्रदेशसभा सदस्यमध्ये भण्डारीलाल अहिर र आदेश अग्रवालले भने अशोक राई नेतृत्वको जसपा रोजेका थिए । अहिर प्रदेश सरकारका कृषिमन्त्री छन् । यद्यपि, उक्त दलबारे सर्वोच्चमा मुद्दा विचाराधीन अवस्थामा छ ।