काठमाडौं । ४७औं जुगेडी किसान संघर्ष दिवस तथा ३३औं किसान संघर्ष दिवस आज एक कार्यक्रमका बीच काठमाडौंमा मनाइएको छ । संवाद डबलीमा भएको एक कार्यक्रममा पूर्वसभामुख अग्निप्रसाद सापकोटाले दिवसको उद्घाटन गरे ।
नेकपा (माओवादी केन्द्र) निकट नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)को आयोजनामा भएको कार्यक्रममा बोल्दै पूर्वसभामुख सापकोटाले समाजवाद स्थापनाको लागि नेपालमा आधार तयार भइसकेकोले सबै किसानहरु त्यतातिर लाग्नुपर्नेमा जोड दिए ।
सापकोटाले प्रविधि र विज्ञानमा नयाँ विचारधाराको विकास गर्न सकेमात्र वैज्ञानिक समाजवादमा पुग्न सकिने बताए । कृषिलाई आधुनिकीकरण गर्नुपर्नेमा सापकोटाको जोड थियो । उनले देशको सुरक्षाको लागि फेरि पनि बलिदान दिन परे आफूहरु तयार रहेको भन्दै नेपालमा देशको रक्षाको लागि लड्ने सक्कली कम्युनिस्टले मात्र सक्ने दाबी गरे ।
सोही अवसरमा बोल्दै अध्यक्ष चित्रबहादुर श्रेष्ठले देशमा सामन्तवादको अवशेष अझै बाँकी रहेकोले मिटरब्याज पीडितहरुले आत्महत्या गर्नुपर्ने अवस्था आएको बताए । उनले मिटरब्याज पीडितहरुको आन्दोलनमा सक्रृयतापूर्वक लाग्नुपर्ने बताए ।
०३४ साल आसाढ ६ गते आजकै दिन चितवनमा चलेको किसान आन्दोलनमा पञ्चायती सरकारले दशरथ चेपाङ र सन्तबहादुर प्रजाको हत्या गरेको थियो । सोही दिनको सम्झनामा किसान संघर्ष दिवस मनाइएको हो । विभिन्न पार्टी तथा संगठनहरुले आज सोही दिनको सम्झनामा यो दिवस मनाइरहेका छन् ।
सो अवसरमा अभियान्ता मणिराम ज्ञवालीले व्यवस्था परिवर्तन पनि अवस्था परिवर्तनमा दलहरु चुकेकोले जनतामा निरासा छाएको बताए । उनले २०७२ को संविधानमा समाजवाद उन्मुख संविधान भनिएकोले जनताको पक्षमा काम गर्न पार्टीहरु एकजुट हुनुपर्ने भन्दै यसमा आफूहरु सामाजिक अभियान्ताको हैसियतले सहयोग गर्ने बताए ।
तस्वीरहरु : राेमन बुढामगर