काठमाडौं : नेकपा एमाले सांसद महेश बर्तौलाले दूध किसानको बक्यौता रकम तत्काल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन । बुधबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर सांसद बर्तौलाले किसानको भुक्तानीका लागि सरकारको ध्यानाकर्षण गराएका हुन ।
उनले आजदेखि आन्दोलन सुरू गरेका किसानलाई प्रहरीले नियन्त्रणमा लिएको भन्दै गृहमन्त्रालयको ध्यानाकर्षण समेत गराए । ‘दूधको बक्यौताको माग गर्दै आजदेखि किसानहरू आन्दोलनमा उत्रिएका छन् । आन्दोलित ४५ बढि किसानलाई प्रहरीले हिरासतमा राखिएको छ । उनीहरूमाथि चरम धरकपड भएको छ । उनीहरूले न्यायोचित माग उठाएका छन् । दूध बेचेको रकम भुक्तानीका लागि आन्दोलन गर्नुपर्ने परिस्थितिमा किसानहरू पुगेका हुन, उनले भने,’यसकारण सभामुखमार्फत् सरकारको, कृषि मन्त्रालय र अर्थमन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु । राज्यको तर्फबाट र राज्यले वातावरण बनाइ दिएर किसानहरूले पाउनेपर्ने दूधको बक्यौता अविलम्बन प्राप्त होस । भुक्तानी गरियोस् ।’
बर्तौलाले डीडीसीबाट झन्डै २ अर्ब र निजी डेरीबाट ३ अर्ब गरी झन्डै ६ अर्ब रुपैयाँ भुक्तानी हुन बाँकी रहेको बताए ।
किसानहरूले दूधको रकम नपाउँदा गाईवस्तुलाई दानापानीको व्यवस्था मात्रै नभइ आफूहरू पनि भोकै बस्नुपर्ने अवस्थामा पुगेको बताए । उनले आन्दोलनरत किसानका न्यायोचित माग पूरा गर्न सरकार गम्भीर हुनुपर्ने बताए । उनले भने, ‘किसानहरूले न्यायोचित माग गरेका छन ।
सरकारले तत्काल वार्ताको माध्यमबाट भुक्तानी गर्ने वातावरण सुनिश्चितता गरोस यसका लागि फेरि पनि आग्रह गर्न चाहन्छु ।’ दूधको भुक्तानी नपाएको भन्दै किसानहरूले आजदेखि फेरि आन्दोलन सुरू गरेका छन् ।