• जेष्ठ ३ २०८३, आईतवार

नक्कली सवारीचालक अनुमतिपत्र जारी गर्ने उपसचिवसहित पाँच कर्मचारी पक्राउ

असार २ २०८१, आईतवार

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नक्कली सवारीचालक अनुमतिपत्र जारी गर्ने कार्यमा संलग्न रहेको आरोपमा उपसचिवसहित पाँच कर्मचारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा यातायात व्यवस्था कार्यालय बुटवलका तत्कालीन कार्यालय प्रमुख ४५ वर्षीय उपसचिव केशव अर्याल, यातायात व्यवस्था कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा कार्यरत कम्प्युटर अधिकृत ३७ वर्षीय पदमराज आचार्य रहेका छन् ।

यसैगरी, तत्कालीन समयमा यातायात व्यवस्था कार्यालय बुटवलमा कार्यरत ३३ वर्षीय शाखा अधिकृत सुवास पौडेल, यातायात व्यवस्था कार्यालय चितवनमा कार्यरत ३० वर्षीय सहायक कम्प्युटर अपरेटर राजेश लम्शाल र यातायात व्यवस्था कार्यालय जनकपुरमा कार्यरत सहायक कम्प्युटर अपरेटर ४७ वर्षीय दिलीपकुमार साह रहेका छन् ।

उनीहरूमाथि अनुसन्धान गर्न सीआईबीले अदालतबाट पाँच दिनको अनुमति पाएको छ । सीआईबीका अनुसार यातायात व्यवस्था कार्यालयहरूले सवारीचालक अनुमतिपत्र वितरण गर्दा यातायात व्यवस्था कार्यालयका कर्मचारीहरूसमेतको मिलेमतोमा प्रणालीमा फर्जी विवरणहरू इन्ट्री गरेर गैरकानुनी तवरले सवारीचालक अनुमतिपत्र जारी भएको पाइएको छ ।

यस कार्यमा उनीहरूको संलग्नता रहेको पाइएपछि पक्राउ गरिएको सीआईबीले जनाएको छ ।
उनीहरूमाथि लिखतसम्बन्धी कसुर मुद्दामा अनुसन्धान भइरहेको छ ।