काठमाडौं । काठमाडौं महानगरपालिकाको नगरसभाको १५औं अधिवेशनको दोस्रो बैठक स्थगित भएको छ । आइतबार नगरसभा बैठक सुरु भएपछि एमाले र कांग्रेसबाट निर्वाचित भएका जनप्रतिनिधिहरुले बहिष्कार गरेपछि नगरसभा असार १० गतेसम्मका लागि स्थगित गरिएको हो ।
बैठक सुरु हुनासाथ महानगर प्रमुख बालेन शाहले आर्थिक वर्ष २०८१/८२ का लागि जेठ ३२ गते प्रस्तुत भएका वार्षिक नीति तथा कार्यक्रममाथि बोल्न चाहने सदस्यहरुलाई ५ मिनेटभित्र नाम टिपाउन समय दिएका थिए । त्यसपछि केहि जनप्रतिनिधिहरुले बैठक बहिष्कार गरेपछि शाहले बैठक स्थगित गरे ।
बैठक स्थगित भएपनि मेयर शाहले एमाले र कांग्रेसको धङ्धङी बोकेर नगरसभामा नआउन चेतावनी दिए । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् ३ जना नेताले गर्दा, १६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन भएको समेत उल्लेख गरे ।
शाहले काठमाडौं महानगरको कुनै पनि नीति, योजनाका बारेमा छलफल बन्द कोठामा नहुने धारणा राखे । ‘३ जना नेताले गर्दा, १६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन भयो ।’ उनले लेखेका छन्,‘काठमाडौं महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा हुँदैन । जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुन्छ । यही कारण हामीले नगरसभा लाइभ गर्ने गरेका हौँ ।’
बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने सार्वजनिकरूपमा औपचारिकता मात्रै दिने काम महानगरले नगर्ने उनको भनाई छ । ‘नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताकारुपमा रहँदैन । १६० जनाको नै हरेक निणर्यमा समान सहभागिता र स्वामित्व रहन्छ ।’
उनले भनेका छन्,‘बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिकरूपमा चै त्यसको औपचारिकता मात्रै दिने काम काठमाडौं महानगर पालिकाले गर्दैन । काठमाडौं महानगरपालिकाको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनु होला ।’