काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले नेपालीहरूकै लगानीमा बुढीगण्डकी जलविद्युत आयोजना बनाउन सकिने बताएका छन ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा ऊर्जा मन्त्रालयअन्तर्गत विनियोजित बजेटमाथि छलफलमा भाग लिँदै उनले नेपाल बन्दैछ भन्ने सन्देश दिन पनि नेपालीहरूकै लगानीमा बुढीगण्डकी आयोजना निर्माण गर्न सकिने बताए ।
‘बुढीगण्डकी परियोजना स्वदेश र विदेशमा भएका नेपालीहरूकै लगानीमा बन्न सक्छ । नेपाल बन्ने र उज्यालो दिशातिर जाँदैछ भन्ने सन्देश दिनका लागि पनि सरकार सफल हुनुपर्छ,’ उनले भने, ‘१२ सय मेगावाट क्षमताको बनाउने कुरा छ ।
विदेशबाट ऋण लिने कि नेपालीकै लगानीमा बनाउने ? सहुलियत ऋण भेटिए त ठिकै हो, तर कतिपय देशहरू ऋणको पासोमा परिरहेको पनि हामीले देखेका छौं । ऋणले बनाएका पोखरा र भैरहवाको विमानस्थलले हामीलाई झस्काएका छन ।
त्यसो भए हामी आफै आयोजना बनाउने विकल्प पनि छ । पहिले सरकारले यो निर्णय पनि गरेको थियो ।’ उनले १८ खर्बको बजेट भएको देशले एकैपटक चार खर्ब बजेट सो आयोजनामा लगानी गर्न सक्छ कि सक्दैन भन्ने प्रश्न पनि गरेका थिए । तर आयोजनाका काम अघि बढाउनका लागि सबैको सहयोग हुनुपर्ने उनको भनाइ थियो ।