जनकपुर । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकारले एकैचोटी सबै राजदूतलाई फिर्ता बोलाउने निणर्य गरेर कूटनीति विपरीत काम गरेको आरोप लगाएका छन् । पार्टीको महाधिवेशन तयारीबारे जानकारी दिन शनिबार जनकपुरधाममा आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले राजदूतलाई एकचोटी फिर्ता बोलाउनु लाज्जस्पद विषय भएको टिपण्णी गरे ।
‘आइतबार प्रधानमन्त्री भारत भ्रमणमा जाँदै हुनुहुन्छ’, उनले भने, ‘तर जानुभन्दा एक दिन अगाडि त्यहाँको राजदूतलाई फिर्ता बोलाइयो । यो अन्तर्राष्ट्रिय कूटनीतिकविपरीतको कार्य हो ।’
संघीय सरकारले ल्याएको बजेट मधेश विरोधी रहेको भन्दै उनले भने, ‘मानव विकास सूचकांक, शिक्षा, स्वास्थ्यमा कमजोर रहेको तथा उच्च जनसंख्या रहेको मधेश प्रदेशमा सरकारले सबभन्दा कम बजेट विनियोजन गरेको छ । यसले शासक वर्ग मधेशप्रति कति पुर्वाग्राही छ भन्ने प्रस्ट हुन्छ ।’
जनकपुरधाममा यही जेठ २८ देखि ३० सम्म आयोजना हुने महाधिवेशनको सम्पूणर् तयारी पूरा भएको उनले बताए । एकताको प्रथम राष्ट्रिय महाधिवेशन भव्य सम्पन्न हुने उनले बताए । महाधिवेशनको उद्घाटन समारोहमा भारतीय कांग्रेस, राष्ट्रिय जनता दल र समाजवादी पार्टी, मलेसियाको डेमोक्रेटिक पार्टी, अजरबैजानको अजरबैजान समाजवादी पार्टी, स्पेन, चीन, इन्डोनेसियालगायत मुलुकका लोकतान्त्रिक तथा समाजवादी पार्टीका प्रतिनिधिहरू सहभागी हुने उनले बताए ।