काठमाडौं । सहकारी बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी छानबिनसँग सम्बन्धित प्रतिवदेनहरू उपलब्ध गराउन सम्बद्ध पक्षलाई आग्रह गरेको छ ।
शुक्रबार सिंहदरबारमा बसेको विशेष समितिको दोस्रो बैठकले सहकारी छानबिनका लागि विगतमा गठित समिति तथा जाँचबुझ आयोगहरूको प्रतिवेदन तत्काल उपलब्ध गराउन सम्बद्ध पक्षलाई आग्रह गर्ने निणर्य गरेको हो ।
सहकारी छानबिनको सम्बन्धमा विगतमा बनेका सबै छानबिन समिति र जाँचबुझ आयोगहरूको प्रतिवेदन असार २ गतेभित्र उपलब्ध गराउन पत्राचार गर्ने निणर्य गरिएको समितिका सभापति सूर्यबहादुर थापाले जानकारी दिए ।
बैठकमा समितिको कार्यविधिको मस्यौदा पनि छलफल सुरु गरिएको छ । त्यसलाई अन्तिम रुप दिनुअघि कार्यादेशबारे स्पष्ट हुनका लागि कार्यदलका संयोजक र सदस्यहरूसँग पनि छलफल गर्ने निणर्य गर्दै त्यसका लागि असार २ गते बैठक बस्ने निणर्य पनि गरिएको सभापति थापाले बताए ।
बैठकमा सचिवालयले तयार पारेको प्रस्तावमा सदस्यहरूले अध्ययन गरी आउने बैठकमा लिखित रूपमा सुझाव दिने सहमति भएको छ ।