काठमाडौं । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले जनमत पार्टीबाट नियुक्त भएका मुख्यमन्त्री सतिशकुमार सिंहलाई सपथ गराएकी हुन । मुख्यमन्त्रीसँगै ९ जना मन्त्रीले पनि शपथ लिएका छन ।
नेकपा माओवादीबाट संसदीय दलका नेता भरतप्रसाद साह अर्थ र युवराज भट्टराई उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री नियुक्त भएका छन ।नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई भौतिक पुर्वाधार विकास, राजकुमार लेखीलाई शिक्षा तथा संस्कृति, शत्रुधन प्रसाद सिंहलाई स्वास्थ्य तथा जनसंख्या र प्रमोद जयसवाल खेलकुद तथा समाजकल्याण मन्त्री नियुक्त भएका हुन ।
एमालेकी शारदा देवी थापा शिक्षा र केशव राय स्वास्थ्य राज्यमन्त्री बनेका छन् । त्यसैगरी नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता गोविन्द बहादुर न्यौपाने भूमी व्यवस्था कृषि तथा सहकारी र बेची लुंगेली उर्जा सिँचाई तथा खानेपानी मन्त्री नियुक्त भएकी छन् ।
नेपाल संघीय समाजवादी पार्टीकी एकल सांसद रहेकी विमला अन्सारी गृह, सञ्चार तथा कानुनमन्त्री र नागरिक उन्मुक्ती पार्टीकी उर्मिला चौधरी श्रम तथा यातायात मन्त्री बनेकी छन् ।जनमत पार्टीकी रञ्जु मण्डल खंग विना विभागीय राज्यमन्त्री नियुक्त भएकी हुन् ।
नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख भण्डारी र राज्य मन्त्रीहरुलाई मुख्यमन्त्री सिंहले पद तथा गोपनीयताको शपथ गराएका हुन् । जनमत पार्टीको भागमा परेको वन तथा वातावरण मन्त्रालय तत्काल मुख्यमन्त्री सिंहले नै सम्हाल्नेछन । केही दिनपछि उक्त मन्त्रालयमा मन्त्री तोकिने जनमतका सचिव विपी साहले जानकारी दिए ।