• मंसिर १२ २०८१, बुधबार

औषधीय प्रयोजनको लागि गाँजा खेती खुला गर्नुपर्छ : अर्थमन्त्री पुन

जेष्ठ २५ २०८१, शुक्रबार

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले औषधिको प्रयोजन र रिसर्चका लागि गाँजा खेती गर्न दिनुपर्ने बताएका छन् । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको शुक्रबारको बैठकमा उनले नियमावाली बनाएर भए पनि औषधीय प्रयोजनका लागि खुला गर्नुपर्ने बताएका हुन् ।

गाँजाबाट उत्पादन हुने कर्चा पदार्थहरूबाट कागज तथा कपडा उत्पादन हुने भएकाले त्यसको पातबाट औषधि उत्पादन हुने र त्यसका लागि ऐन तथा नियमावली बनाएर अगाडि बढ्नुपर्ने अर्थमन्त्री पुनको भनाइ छ ।

गाउँघरमा अहिले पनि यसको अप्रत्यक्ष रूपमा खेती हुने गरेको भन्दै खेती गर्ने ठाउँमा भन्दा बाहिरका युवाहरूले लागुऔषधका रूपमा प्रयोग गर्ने गरेको उनले बताए । तर, यसलाई प्रतिबन्धभन्दा खुला गरेर खेती गर्न र प्रयोग कसरी गर्ने भन्ने मापदण्ड तोकिनुपर्ने उनको भनाइ छ ।

“गाउँघरमा अहिले पनि गाँजा उत्पादन भइरहेको छ । यसबाट उत्पादन हुने कच्चा पदार्थबाट धेरै उपयोगी सामान पनि बनेका छन्,” उनले भने, “यसको प्रयोगको विषयमा कानुनी व्यवस्था हुनुपर्छ । यसबाट धेरै कच्चा पदार्थ उत्पादन हुन्छ । प्रयोगको विषयमा भने सामाजिक चेतना र जागरण फैलाउनुपर्छ ।”