• मंसिर १३ २०८१, बिहीबार

मोदीको शपथ ग्रहणमा प्रधानमन्त्री दाहाल भारत जाँदै

जेष्ठ २४ २०८१, बिहीबार

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिवार भारत जाने भएका छन् । भारतीय जनता पार्टी (भाजपा)का नेता नरेन्द्र मोदीको तेस्रो कार्यकालको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड भारतको नयाँ दिल्ली जान लागेका हुन् ।

उनलाई शपथ ग्रहणमा सहभागी हुन आधिकारिक निम्ता आएसँगै शनिबार दिल्ली जाने कार्यक्रम तय भएको जनाइएको छ । यसअघि प्रधानमन्त्री प्रचण्डले निर्वाचनमा हासिल गरेको सफलतामा बधाई दिन बुधबार गरेको फोन संवादमा पनि मोदीले शपथग्रहण कार्यक्रममा आउनका लागि निमन्त्रणा दिएका थिए ।

भारतीय पक्षबाट औपचारिक निमन्त्रणा पाइसकेपछि प्रधानमन्त्री प्रचण्ड भ्रमणका लागि उनको सचिवालय तथा नेपालस्थित भारतीय दूतावास जुटिसकेको छ ।  यद्यपि प्रधानमन्त्री प्रचण्डको सचिवालयले भारतबाट पत्र आएको बारे खुलाउन चाहेको छैन ।

मोदीको शपथमा सहभागी हुन भारतले बङ्गलादेश, श्रीलङ्का, मोरिसस र भुटानका सरकार प्रमुखलाई समेत निमन्त्रणा पठाइएको छ । मोदीले जुन ८ तारिखको साँझ शपथ लिने तयारी चलिरहेको छ । यसै बिचमा शपथको समय हेरफेर हुने चर्चा पनि भारतीय सञ्चारमाध्यममा चलिरहेको छ ।