• मंसिर १३ २०८१, बिहीबार

महिला हिंसा अन्त्य गर्न बालिकालाई आत्मरक्षाको तालिम दिनुपर्छ : महिला मन्त्री चौधरी

जेष्ठ २४ २०८१, बिहीबार

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले विभेद र हिंसाको अन्त्य गर्नका निम्ति बालिकाहरूलाई विद्यालय तहमै आत्मरक्षाको तालिम दिनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय महिला अधिकार दिवस र जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको सन्दर्भमा दलित महिला संघले आयोजना गरेको अन्तरजातीय विवाहले दलित तथा महिलालाई पारेको असर अध्ययन प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो ।

कतिपय ऐन, कानूनका विषयमा जानकारी नभएका कारणले पनि विभेद तथा जातीय छुवाछुतको अन्त्य हुन नसकेको भन्दै उहाँले जातीय विभेद तथा छुवाछुत विरुद्धका कानूनहरूका बारेमा जानकारी दिने उद्देश्यले नागरिक बडापत्र बनाएर सबै पालिका तथा पालिकाका वडाहरूमा राख्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘जातीय छुवाछुतलाई कानूनले दण्डनीय बनाएको छ । तथापि छुवाछुत कायम छ । ऐन, कानूनको विषयमा पनि धेरैलाई जानकारी हुन सकेको छैन । जसका कारणले छुवाछुत गरेमा कानूनी कारबाही हुन्छ भन्ने जानकारी नै छैन । त्यसैले ऐन, कानूनको विषयमा पनि जानकारी गराउन आवश्यक छ ।’

अन्तरजातीय विवाह गरेका जोडिलाई गाली गर्न उसको परिवार, सन्तानलाई नै गाली गर्ने प्रवृत्ति अद्यापि रहेको भन्दै मन्त्री चौधरीले संविधानले धर्म निरपेक्ष जस्तै जातीय छुवाछुतको अन्त्य गर्न जात निरपेक्ष बनाए जातीय छुवाछुत न्यूनीकरण हुनसक्ने बताउनुभयो ।

जातीय छुवाछुतकै कारण रुकुम पश्चिममा नवराज विकसहितका युवाहरूको हत्या भएको दुःखद घटना भएको भन्दै मन्त्री चौधरीले दलितसँग विवाह गर्ने बच्चाहरूको जन्मदर्ता समेत नहुने गरेको बताउनुभयो ।

अहिलेको अवस्थामा पनि विभेद न्यूनीकरण हुन नसकेको भन्दै उहाँले सेल्टर रेस्क्यूको कुरामा पनि ध्यान दिनुपर्ने बताउनुभयो ।