• मंसिर १३ २०८१, बिहीबार

६३ जनाको हस्ताक्षरसहित मधेसको मुख्यमन्त्रीका लागि दाबी पेस गरिँदै

जेष्ठ २० २०८१, आईतवार

काठमाडौँ । मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि सात दलले आइतबार प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्ने भएका छन् । नेकपा एमाले, माओवादी केन्द्र, जनमत, एकीकृत समाजवादीलगायतका सात दलका ६३ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेको नेकपा एमाले संसदीय दलका नेता सरोज यादवले जानकारी दिए ।

नेता यादवका अनुसार मुख्यमन्त्रीमा जनमत पार्टीका महेश यादवलाई मुख्यमन्त्री रूपमा अघि सार्ने तयारी छ । ‘हामी आजै प्रदेश प्रमुखसमक्ष नयाँ सरकार गठनका लागि ६३ जना सांसदको हस्ताक्षरसहित जाँदैछौँ’, यादवले भने, ‘एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी,लोसपा,सङ्घीय समाजवादी र नागरिक उन्मुक्ति र जनमतका सांसदको हस्ताक्षर रहन्छ ।’

यादवले लोसपा समेत नयाँ सरकार गठनको पक्षमा रहेको दाबी गरे पनि लोसपाले नयाँ समीकरणमा जाने या नजाने भन्ने निर्णय गरिसेकेको छैन । यो प्रदेशमा लोसपाका नौ जना सांसद छन् । यसअघि केन्द्रमा नयाँ समीकरण बनेसँगै एमाले र माओवादी जसपा नेपाल नेतृत्वको मधेस प्रदेश सरकारबाट फिर्ता भएको थियो ।

आइतबारै नेकपा एकीकृत समाजवादीले पनि मन्त्री फिर्ता बोलाएर सरकारलाई दिएको समर्थन समेत फिर्ता गर्ने तयारी गरेको छ । एमाले र माओवादीले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री यादवले जेठ २३ गते विश्वासको मत लिने तयारी गरेका थिए । त्यसअघि नै सात दल नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखकोमा जान लागेका हुन् ।

१०७ सदस्यीय मधेस प्रदेश सभामा बहुमतका लागि ५४ सांसदको आवश्यकता पर्छ ।