काठमाडाै । एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना सांसदहरूलाई उनीहरूका क्षेत्रमा सञ्चालन भइरहेका आयोजनाहरूमा बजेट कटौती भएको छ भने प्रश्न गर्न निर्देशन दिएका छन् ।
शनिबार बसेको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले आइतबारदेखि संसदमा सुरू हुने बजेटमाथिको छलफलमा सहभागी भई बजेटमा केही कमजोरी छन् भने औंल्याउन भनेका हुन् ।
आफ्नो जिल्ला, क्षेत्र र प्रदेशमा हिजो के कमजोरी थियो सुधार भयो कि भएन वा अझै घटोत्तरी भए कि यस्ता विषयहरूमा स्वाभाविक रूपमा प्रश्न उठाउन सक्नुहुन्छ, ओलीले भने । तर त्यसको औचित्य पनि खोज्न आवश्यक हुने ओलीले बताए ।
कुनै नयाँ आयोजनाका लागि विशेष काम गर्दैछौं कि ? नयाँ, ठूला र राष्ट्रका लागि अत्यन्त महत्वको आयोजना जसले एउटा रूपान्तरणकारी काम गर्छ । त्यस्ता आयोजना सुरू गर्दैछौं र त्यसमा असाधारण ढंगले ठूलो बजेट छुट्याउन परेकाले कतिपय बजेटको साइज घटाएर वा कतिपय ठाउँको बजेट घटाएर त्यसलाई अन्त सार्नु पर्यो भनिएका छन् कि । त्यो पनि हेर्नुपर्छ, उनले भने । ती केही नहुँदा पनि बजेट घटाइएको छ भने कमिकमजोरी औँल्याउनुपर्ने अध्यक्ष ओलीले बताए ।
यदी त्यस्तो छैन र एउटालाई अनुकूल र अर्कालाई प्रतिकूल छ भने कमिकमजोरी भयो पनि भन्नुपर्छ, उनले भने, आफ्नो क्षेत्रमा भइरहेको बजेट कटौती भएको छ भने बजेटको सम्पूर्ण आकार नघटेको स्थितिमा आयोजनाका लागि छुट्याइएको रकम अझ घट्यो भने त्यसको औचित्य केहो ?