• मंसिर १२ २०८१, बुधबार

एनसेलले लाइसेन्स नवीकरणका लागि सरकारलाई बुझायो ४ अर्ब रकम

जेष्ठ १५ २०८१, मंगलवार

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले अनुमतिपत्र नवीकरणका लागि नियामक निकायलाई पत्र पठाएको छ ।एनसेलले आउदो भदौ १५ भित्र जीएसएम सेलुलर मोबाइल सेवाको अनुमतिपत्र (लाइसेन्स) नवीकरण गरिसक्नु पर्छ ।

त्यसको तीन महिनाअघि नै नवीकरणका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र पठाउनुपर्ने कानुनी व्यवस्था छ । सोही अनुसार एनसेलले जेठ १४ गते (हिजो) सोमबार नै प्राधिकरणलाई पत्र पठाएको हो ।

पत्रसँगै लाइसेन्स नवीकरणका लागि लाग्ने २० अर्ब शुल्कमध्ये कम्पनीले प्राधिकरणको खातामा ४ अर्ब रुपैयाँ पठाएको बताइएको छ । दूरसञ्चार प्राधिकरणले अपुग भएको बाँकी रकम पनि भुक्तानी गर्नभन्दै एनसेललाई पत्र पठाएको छ ।

प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले एनसेलले नवीकरणका लागि निवेदन दिएको बताए । ‘निवेदन र ४ अर्ब रुपैयाँ भुक्तानी गरेको छ । बाँकी अपुग रकम तिर्न भनेर पत्र पठाएका छौं,’ प्रवक्ता पौडेलले भने ।

गत वैशाखमा मात्रै नेपाल टेलिकमको लाइसेन्सको अवधि २५ वर्ष नाघेपछि २१ करोड रुपैयाँमै सरकारले पाँच वर्षका लागि नवीकरण गरिदिएको छ । यस्तोमा २० अर्ब तिर्न किस्ताबन्दीको सुविधा मिल्नसक्ने अपेक्षा एनसेलले पनि लिएको हुन सक्ने एक अधिकारीले बताए ।

पछिल्ला वर्षमा टेलिकम कम्पनीको आम्दानी घट्दै गएको छ । आम्दानी नै ३०–४० अर्बको हाराहारीमा झरिरहेका बेला नवीकरणका लागि २० अर्ब रुपैयाँ तिर्न नसकिने सरोकारवालाहरुको भनाइ छ । दूरसञ्चार ऐन, २०५३ अनुसार जीएसएम सेलुलर मोबाइल सेवाको लाइसेन्स अवधि २५ वर्षको हुन्छ ।

तर लाइसेन्स प्राप्त गर्दा बढीमा दश वर्ष र त्यसपछि एक पटक पाँच वर्षका लागि मात्रै नवीकरण गर्न मिल्छ । सोही अनुसार एनसेलको लाइसेन्स अवधि २०८६ सालमा सकिनुअघि अहिले अन्तिमपटक पाँच वर्षका लागि नवीकरण गर्न लागेको हो ।