काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमको छलफल प्रतिनिधिसभामा जारी छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले भने वेल घेराउ गर्दै नाराबाजी गरिरहेको छ । तर, सभामुख देवराज घिमिरेले संसदको कारबाही अगाडि बढाएका छन् ।
नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै रास्वपाका उपसभापति सांसद स्वर्णिम वाग्लेले बोल्न सुरु गरेपछि कांग्रेस सांसदहरूले हुटिङ गरेका छन् । उनले विषयमा भन्दा पनि कांग्रेसको अवरोध गलत रहेको बताएका थिए ।
‘राजनीतिक गुरु बीपी कोइरालाले स्थापित गरेको मान्यता कुल्चिएको छ’ भन्दै गर्दा कांग्रेस सांसदहरू झन् आक्रामक बने । उनीहरूले होहल्ला गरे ।
त्यसपछि सभामुख घिमिरेले वाग्लेलाई विषयमा केन्द्रित भएर मन्तव्य राख्न भने । वाग्ले यत्तिकैमा रोकिएनन् । कर्मकाण्डी विरोधको औचित्य छैन भन्दै कांग्रेसको गतिविधिको आलोचना गरिरहे । विरोधको सय दिन भएको बताए ।
वाग्लेलाई फेरि पनि सभामुख घिमिरेले विषयमा बोल्न भने । उनले बजेटमा पार्टीको समर्थन रहेको भनेर मन्तव्य सके ।