काठमाडौँ । संसदीय समितिको कार्यादेश टुङ्गो लगाउने प्रयासमा शीर्ष नेताहरूको बैठक आज बस्दै छ । बैठक आज बिहान नौ बजे बस्ने तय भएको छ ।
सहकारी संस्थाको रकम अपचलन प्रकरणमा छानबिन गर्न गठन भएको शीर्ष नेताहरूको बैठकले नै संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन नेकपा एमालेका नेता एवम् कानुन मन्त्री पदम गिरीको नेतृत्वमा कार्यदल गठन गरेका थिए । कार्यदलमा गिरीसहित नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता शिशिर खनाल छन् ।
कार्यदलस्तरमा कार्यादेशमा सहमति नजुटेपछि शीर्ष तहमा छलफल हुन लागेको हो । कार्यादेशमा उपप्रधानमन्त्री तथा गृहमन्त्री र रवि लामिछानेको नामै उल्लेख गर्ने कि नगर्ने भन्नेमा सत्तारुढ र प्रतिपक्ष दलबीच सहमति जुटेको छैन । यद्यपि कार्यादेशमा दुवै पक्ष सहमति नजिक पुगेको नेताहरुले दाबी गरेका छन् ।
शनिबार पनि कार्यदल स्तरमा छलफल पछि प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहरूको बैठक बसेको थियो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्कालगायत सहभागी थिए ।
बैठकमा काँग्रेसले सहकारी सञ्चालकहरू, गोर्खा मिडिया नेटवर्कलगायतका कम्पनीहरू, यसका सञ्चालक समितिका पदाधिकारी, प्रबन्ध निर्देशक र आवश्यक अन्य कर्मचारीका बारेसमेत छानबिन गरिनुपर्ने अडान यथावत राखेको काँग्रेस सहमहामन्त्री जीवन परियारले बताए । उनका अनुसार आज पनि सहमतिको प्रयास जारी राख्न शीर्ष नेताहरूको बैठक बस्न लागेको हो ।