काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईंले एमाले अध्यक्ष केपी ओली र राष्ट्रिय युवा संघका इन्चार्ज महेश बस्नेत मिलेर आफूलाई ज्यान मार्ने उद्योगमा फसाउने ‘मास्टर प्लान’ बनाएको आरोप लगाएका छन् ।
एमालेको भ्रातृसंस्था राष्ट्रिय युवा संघकी केन्द्रीय सदस्य समेत रहेकी दुर्गा पाठकलाई अध्यक्ष ओली र बस्नेतको मिलेमतोमा आफूविरुद्ध उकासेर भिडियो बनाउन लगाएर फसाउन खोजिएको प्रसाईंको दाबी छ ।
शनिबार पत्रकार सम्मेलनमा प्रसाईंले आफू विरुद्ध सिङ्गो एमाले लागेको आरोप मात्र लगाएनन् युवा संघका इन्चार्ज महेश बस्नेत मुछिएको यौन हिंसा प्रकरणमा आफूलाई फसाउनकै लागि दुर्गा पाठकलाई भिडियो बनाउन लगाएको बताएका छन् ।
‘म मङ्सिर सात गते आन्दोलन गरिसकेपछि आफ्नो बाटोमा हिँडेको थिएँ । तर, बिचमा महेश बस्नेत, केपी ओली र एमालेको डिजाइनमा ठुलो षड्यन्त्र बनाएका रहेछन् ।’
उनले भने, ‘दुर्गा पाठकलाई बस्नेतका कार्यकर्ताले पीडितलाई मरे भने दुर्गा प्रसाईं र सरकारले जिम्मेवारी लिनुपर्छ भनेर भिडियो खिचेको रहेछ । यो गर्न खोजेको के हो ? केपी ओली र शंकर पोखरेलहरूले राजनीतिक प्रशिक्षण दिँदा एमाले पार्टी कार्यकर्तालाई यस्तै सिकाउँछन् ? उहाँलाई भिडियो बनाउन लगाएर दिनैपिच्छे मार्न खोज्दा रहेछन् । उहाँ मरेपछि म फसे नि त, मलाई फसाउन यत्रो षड्यन्त्र गर्नुपर्ने ?’ प्रसाईंले प्रश्न गरेका छन् ।
पाठकलाई अब सुरक्षा आफूले दिने घोषणा गरेका प्रसाईंले ओली, बस्नेत र सिङ्गो एमालेलाई आफूसँग नठोकिन चेतावनी दिएका छन् ।
आफूले भिडियो पाएपछि प्रहरी महानिरीक्षकलाई समेत पठाएको चर्चा गर्दै प्रसाईंले ओलीलाई कार्यकर्तालाई सम्झाउन सुझाव दिए । नभए ओली महेश बस्नेत, निर्भयबाबु प्रसाई, बब्लु गुप्ताविरुद्ध मुद्दा हाल्ने चेतावनी पनि दिए ।
यस्तै, पीडित भनिएकी युवा संघ नेपालकी केन्द्रीय सदस्य दुर्गा पाठकले आफूलाई महेश बस्नेतले शोषण गरेको दाबी गरेकी छन् । उनले पछिल्लो समय बस्नेत र उनको सम्बन्ध बाहिर आएपछि प्रसाईंलाई फसाउन आफूलाई धम्क्याएर बस्नेतका मान्छेले भिडियो बनाएको र त्यसकै आधारमा ब्ल्याकमेल गरेको बताइन् ।