काठमाडौं । प्रथम राष्ट्रपति डा. रामवरण यादवले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको विषयमा असन्तुष्टि जनाएका छन् । उनले सिरोहिया नेपालकै नागरिक भएको बताए ।
शनिबार नेपाल पत्रकार महासंघ कास्कीको १७औं साधारणसभा तथा १२औं अधिवेशनमा बोल्दै उनले सच्याउन मिल्ने अवस्था हुँदाहुँदै विधिको शासन विपरीत सरकारले गतिविधि गरेको बताए । ‘कान्तिपुर मिडिया हाउसका मान्छेलाई सरकारले जुन प्रकारले समातेको छ त्यो विधिको शासनअनुसार छैन,’ उनले भने, ‘त्यसलाई चिठी पत्र काटेर, भूल भएछ भनेर सीडीओ अफिसले पत्र काट्दिन्थ्यो । यति गते हाजिर हुनुस् भन्थ्यो । त्यो दिन सच्याइदिन्थ्यो ।’
स्वास्थ्य, शिक्षा र खानेपानीको समस्या हुँदाहुँदै सरकार संविधान विपरीत काम गरिरहेको यादवले आरोप लगाए । जनकपुरमा घुस दिएर नागरिकता बनाइने गरेको तर कैलाशको त्यस्तो नरहेको उनले दाबी गरे । ‘मैले राजनीति जनकपुरबाट सुरु गरेको । त्यो मान्छे पनि जनकपुरबाट । त्यसको (कैलाश)को पिताजी घासीराम मारवाडी सज्जन मान्छे थियो ।
अरु मारवाडीको रातारात नागरिकता भयो । युवराज ज्ञावली नाम सुन्नुभएको होला कान्तिपुरमा सुरु गरेर, नागरिक (पत्रिका)को विनोदको बुवा,’ यादवले भने, ‘पञ्चायतको बेलामा ऊ सीडीओ भएर गएको थिए । जसले घुस दिन्थ्यो उसको नागरिकता बन्थ्यो, घासीराम मारवाडीको हुँदैन । पछि युवराजले नागरिकता दिए ।