काठमाडौं । महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेन ले सम्पदाको पुनर्निर्माण पुरातन शैलीमै गर्नुपर्ने बताएका छन् । बिहीबार काठमाडौंको थायमरुस्थित रत्नकेतु महाबिहार पुनःर्निर्माण उद्घाटन कार्यक्रममा मेयर साहले काठमाडौं उपत्यकामा सम्पदाहरूको पुनर्निर्माण गर्दा पुरानो शैलीलाई नै महत्त्व दिएर बनाउनुपर्ने बताए ।
उनले पुरानो शैलीमा सम्पदाहरुको पुनःनिर्माण गर्दा व्यापार व्यवसाय घट्ने नभई झनै बढेर जाने बताए । उनले सभ्यता बढेपछि व्यापार र जीवनशैली बढ्ने बताए ।
मेयर बालेनले महानगरपालिकाभित्रका सम्पदा पुनःनिर्माणका लागि महानगर जहिल्यै सहयोग गर्न तयार रहेको बताए । मेयर साहले सम्पदा पुनःनिर्माणका लागि आवश्यक बजेट एकैपटक माग्न पनि वडा अध्यक्षहरूसँग आग्रह गरे ।
महानगरपालिकाले सम्पदा पुनःनिर्माणका लागि एकैपटक सबै बजेट माग्दा दिँदैन कि भन्ने आशंका नगरी एकैपटक बजेट मागेर सबै पुनःनिर्माणका काम एकैपटकमा सम्पन्न गर्नेगरी गर्न आग्रह गरे ।