• मंसिर १३ २०८१, बिहीबार

कैलाश सिरोहियाजी निर्दोष हुनुहुन्छ, अदालती प्रकृयाबाट छुट्नुहुन्छ : प्र.म दाहाल

जेष्ठ ९ २०८१, बुधबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया निर्दोष भए अदालती प्रक्रियाबाट छुट्ने बताएका छन् ।

बुधबार बिहान काठमाडौंमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले सिरोहिया पक्राउका विषयमा बढ्ता होहल्ला गर्न जरुरी नभएको उनको भनाइ छ ।

‘अदालतले प्रक्रिया अघि बढाउ भनेपछि अघि बढेको विषय हो । बढ्ता होहल्ला गर्न जरुरी लाग्दैन,’ उनले भने, ‘अदालती प्रक्रियाबाट उहाँ निर्दोष हुनुहुन्छ । उहाँ सजिलै छुट्नुहुन्छ ।’

प्रधानमन्त्री प्रचण्डले सरकारले सिरोहियासँग रिसिइबी साधेको भन्ने कुरा गलत भएको बताए । ‘उहाँसँग सरकारको के को रिसिइबी ? रिसिइबी साँधेको भन्ने कुरा गलत हो,’ उनले भने ।

दोहोरो नागरिकतासम्बन्धी कसुरमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई मंगलबार साँझ प्रहरीले थापाथलीस्थित कार्यकक्षबाटै पक्राउ गरेको थियो ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईको नेतृत्वमा खटिएको प्रहरीको टोलीले सिरोहियालाई कार्यकक्षबाटै पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय, धनुषाको जिम्मा लगाएको छ ।

यसअघि दोहोरो नागरिकता सम्बन्धी कसुरमा धनुषा जिल्ला अदालतले सिरोहियालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो ।