काठमाडौं । नेपालले भारतीय ब्रान्ड एमडिएच र एभरेस्टका चार प्रकारका मसला आयातमा रोक लगाएको छ ।
हङकङ र सिंगापुरले ती मसलामा हानिकारक एथलिन अक्साइड रहेको भन्दै आयातमा रोक लगाएको खबर बाहिरिएपछि नेपालमा समेत रोक लगाइएको हो ।
एथलिन अक्साइडले मानिसमा क्यान्सर गराउन सक्ने मानिन्छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले एमडिएचको मद्रास करी पाउडर, साम्बर मसला मिक्स्ड मसला पाउडर, करी पाउडर मिक्स्ड मसला र एभरेस्ट ब्रान्डको फिस करी मसलाको आयात र बिक्री–वितरणमा रोक लगाउने निर्णय गरेको हो ।
विभागले यी मसलाको आयात अनुमति तत्काल स्थगित गर्ने र आयात विन्दुमा रहेका खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयहरूलाई सूचित गर्ने निर्णय समेत गरेको छ ।