काठमाडौं । राष्ट्रिय प्रशारण ग्रिड कम्पनी र भारतीय कम्पनी एनएचपीसी लिमिटेडबीच प्रशारणलाइन प्रयोग गर्ने सम्झौता भएको छ । नेपाल सरकारले प्रशारण लाइन निर्माणका लागि खडा गरेको ग्रिड कम्पनीले बनाउने प्रशारणलाइनबाट बिजुली लैजान सम्झौतापत्रमा सोमबार काठमाडौंमा एक कार्यक्रमबीच हस्ताक्षर भएको हो । एनएचपीसीले उत्पादन गर्ने पश्चिम सेतीको बिजुली सरकारी ग्रिड कम्पनीले बनाएको प्रशारणलाइन प्रयोग गर्नेगरी लैजाने सम्झौता भएको हो ।
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सुशिलचन्द्र तिवारीको उपस्थितमा ग्रिड कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. नेत्रप्रसाद ज्ञवाली र एनएचपीसीका महाप्रबन्धक पीसी उपाध्यायाले सम्झौतामा हस्ताक्षर गरेका छन् । दुवै आयोजनाको विकासका लागि एनएचपीसीसँग एमओयू भएको छ । पश्चिम सेती ७५० मेगावाट क्षमताको आयोजना हो ।
सोही आयोजना नजिकैबाट ग्रिड कम्पनीले प्रशारणलाइन बनाइरहेको छ । ग्रिड कम्पनीकै प्रशारणलाइमा ह्वीलीङ चार्ज तिरेर बिजुली लैजाने सम्झौता भएको हो । पश्चिमी सेती करिडोरमा १८ सय मेगावाट परियोजना निर्माणको चरणमा रहेका छन् । एनएचपीसीले दोधारा–बरेली ४०० केभी प्रशारणलाइनमार्फत भारत बिजुली लैजानेछ ।
२०७९ भदौ २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा सेती नदी र पश्चिम सेती जलविद्युत आयोजना विकासको जिम्मा एनएचपीसीलाई दिनेगरी सम्झौता भएको थियो ।