जनकपुर । मधेश प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कार्यरत एक उपसचिवमाथि जबरजस्ती करणीको मुद्दा दर्ता भएको छ । रुपेशकुमार साहमाथि बलात्कारको आरोप लगागेको छ ।
मुख्यमन्त्री कार्यालयमा कार्यररत उपसचिव साहविरुद्ध परिवर्तित नाम २०८०/०८१—२० प ले गएको चैत ३० गतेका दिन जिल्ला प्रहरी कार्यालय धनुषामा जबरजस्ती करणीको मुद्दाको जाहेरी दिएकी थिइन् ।
पीडित महिला र आरोपित साहबीच परिचय रहेको बताइएको छ । गत १८ माघको राति उपसचिव साहले भगवानको प्रसाद भनेर नशालु पदार्थ मिसाएको खानेकुरा दिई बहोस बनाएको र जबर जस्तीकरणी गरेको दाबी गरिएको छ ।
यता, उपसचिव साह मुद्दा दर्ता हुनुअघि १८ फागुनदेखि नै कार्यालयबाट विदा लिई फरार अवस्थामा रहेका छन् । मुख्यमन्त्री कार्यालयका सचिव अर्जुन गौतमले घटनाबारे आफूलाई केही जानकारी नरहेको बताए ।
‘उपसचिव साहले १८ फागुनदेखि नै १५ दिनको विदा लिएका थिए’, उनले भने, ‘विदा पनि सकिसकेको छ, तर पनि अहिले हाम्रो सम्पर्कमा छैनन् ।’
३० चैतमा जाहेरी दिए पनि जिल्ला प्रहरी कार्यालय धनुषाले गत ७ गते मात्रै जाहेरी दर्ता गरी अनुसन्धान अगाडि बढाएको छ । घटनाको अनुसन्धानको क्रममा जिप्रकाले मुख्यमन्त्री कार्यालयलाई प्रतिवादी साहबारे जानकारी माग्दै पत्राचार गरेको छ ।
मुख्यमन्त्री कार्यालयमा जिप्रकाले गरेको पत्राचारमा साह हाल कुन पदमा कार्यरत रहेको, मन्त्रालयको निवासमा कहिलेदेखि कहिलेसम्म बसेको, घटना भएको दिन प्रतिवादी साह माघ १८ गते कार्यालयमा कार्यरत रहेको हो/होइनसहित प्रतिवादीको तीन विवरण खुल्ने नागरिकताको प्रतिलिपि तथा अन्य कागजातको प्रतिलिपि उपलब्ध गराई दिन माग गरिएको छ ।
यता जिल्ला प्रहरी कार्यालयले आरोपित साहको खोजतलास गरिरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले मुख्यमन्त्री कार्यालयका कर्मचारी साहविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता भएको र अनुसन्धान भइरहेको बताए ।